मधेशमा नयाँ सत्ता समीकरणको कसरत

Byसदाम हुसैन

२०८३ कार्तिक १०, मंगलवार २०८३ कार्तिक १०, मंगलवार २०८३ कार्तिक १०, मंगलवार

सर्लाही, १० कार्तिक । मधेश प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीसँगको छलफललाई तीव्रता दिएको छ ।

तीनै दलबीच नयाँ गठबन्धन बनाएर सरकार गठन गर्ने विषयमा सकारात्मक संवाद भइरहेको नेताहरूले बताएका छन् ।

एमालेले वर्तमान सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको र जनताले सरकारको कामको अनुभूति गर्न नसकेको भन्दै समर्थन फिर्ता लिएको जनाएको छ ।

एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले अब अन्य दलसँग सहकार्य गरेर नयाँ सरकार गठनको प्रयास भइरहेको जानकारी दिए ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता सरोजकुमार यादवले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा चार–पाँच महिना सहभागी हुँदा पनि सहमति कार्यान्वयन नभएकाले सरकारबाट बाहिरिनुपरेको दाबी गरे ।

एमालेले सरकारको कामप्रति जनस्तरबाट गुनासो बढेको निष्कर्ष निकालेको उनको भनाइ छ । एमाले नेता यादवले पार्टी अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच केन्द्रमा नयाँ सरकार गठनबारे एक चरणको छलफल भइसकेको दाबी गर्दै त्यसलाई सकारात्मक रूपमा लिइएको बताए । प्रदेश तहमा पनि जसपा र जनमत पार्टीसँग संवाद भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्मको छलफलमा जसपा र जनमत पार्टी एमालेसँग मिलेर सरकार गठन गर्न सकारात्मक देखिएका छन् । तर, अन्तिममा के हुन्छ, त्यो हेर्न बाँकी छ ।’ चाडपर्व सकिएपछि तीन दलबीच सहमतिमा पुग्ने गरी छलफल अघि बढाइने उनले बताए ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर गृहकार्य भइरहेको पनि उनले उल्लेख गरे ।

यद्यपि, नयाँ सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा औपचारिक छलफल भइनसकेको उनको भनाइ छ । जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले पनि एमाले, जसपा र जनमत पार्टी मिलेर नयाँ सरकार गठन गर्ने विषयमा छलफल भइरहेको पुष्टि गरे ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका जसपा नेपालका नेता सरोजकुमार यादवका अनुसार तीनै दलका अध्यक्षबीच केन्द्रबाटै सहमति जुटाउने समझदारी बनेको छ ।

उनले प्रदेशसभामा आफ्नो दल सबैभन्दा ठूलो भएकाले नयाँ सरकारको नेतृत्व जसपाले पाउनुपर्ने दाबी गरे । ‘केन्द्रबाटै तीनै दलका अध्यक्ष बसेर विषय टुंग्याउने सहमति भएको छ ।

अबको केही दिनमा यसबारे निर्णय हुन्छ,’ उनले भने । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाण्डु फर्किएपछि सरकार गठनबारे सहमति जुटाउने प्रयास अघि बढ्ने उनले बताए ।

वर्तमान सरकार २९ गतेसम्म कायम रहने र त्यसअघि नै तीन दलबीच सहमति जुटाउने प्रयास गरिने उनको भनाइ छ ।

गत असोज ३० गते एमाले तीनदलीय गठबन्धन सरकारबाट बाहिरिएपछि मधेश प्रदेश सरकार अल्पमतमा परेको छ । यद्यपि, नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टी-नेकपा) का १५ र जनमत पार्टीका १२ सांसद छन् ।

त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक सांसद छन् । सिट संख्याका आधारमा एमाले, जसपा र जनमत पार्टीबीच गठबन्धन बनेमा उनीहरूको कुल संख्या ६२ पुग्छ ।

तीनै दलको सरकार गठनका लागि आवश्यक बहुमतभन्दा आठ जना प्रदेश सांसद बढी हुनेछ । तर, तीनै दलबीच सरकार गठनका लागि औपचारिक सहमति भने भइसकेको छैन ।

नयाँ सरकारको नेतृत्व र शक्ति बाँडफाँटको विषय टुंगिन बाँकी रहेकाले मधेश प्रदेशको आगामी सत्ता समीकरणबारे अझै अनिश्चितता कायम नै रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *