सर्लाही, ११ कार्तिक । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल भारतको आन्ध्र प्रदेश र यानम आसपासको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरिरहेको उक्त चक्रवात कमजोर बन्दै नेपाल नजिकको भारतीय भूभागसम्म आइपुग्ने भएकाले आगामी शनिबारसम्म मौसम प्रतिकूल रहने पूर्वानुमान गरिएको छ ।
विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार हाल उक्त मौसमी प्रणाली आन्ध्र प्रदेशको समुद्री तटीय क्षेत्र आसपास केन्द्रित रहेको छ ।
चक्रवात दिउँसोसम्ममा पूर्ण रूपमा जमिनमा प्रवेश गर्ने क्रममा रहेको र त्यसको आंशिक प्रभाव नेपालमा पनि देखिन थालिसकेको उनले जानकारी दिइन् ।
हाल नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागेको तथा बिहानीपख लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासमेत भइसकेको छ ।
चक्रवातको आगामी गतिबारे स्पष्ट पार्दै मौसमविद् महर्जनले प्रणाली जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर बन्दै भारतको आन्तरिक भूभाग हुँदै अघि बढ्ने बताइन् ।
उनका अनुसार आगामी कात्तिक १३ गतेसम्ममा यो प्रणाली नेपाल नजिक पर्ने भारतको उत्तर प्रदेश र बिहारको आसपास आइपुग्नेछ । कमजोर अवस्थामा आइपुगे पनि यसको असरले नेपालभर मौसममा व्यापक फेरबदल ल्याउने देखिएको छ ।
उक्त चक्रवातका कारण आज देशभर मौसम बदली रहने र कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । भोलिदेखि शनिबारसम्म भने वर्षाको मात्रा र दायरा निकै फराकिलो बन्ने महाशाखाले जनाएको छ ।
विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका अधिकांश स्थान (७० देखि १०० प्रतिशत क्षेत्र) मा मध्यम वर्षा हुनेछ ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका करिब ७० प्रतिशत स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ ।
यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने देखिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना छ। साथै कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको समेत दोहोरो प्रभाव रहने भएकाले मेघगर्जन र चट्याङसहित असिनापानी पर्न सक्ने जोखिम महाशाखाले औँल्याएको छ ।
मौसम प्रणालीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै महाशाखाले आइतबार बिहानसम्मका लागि चेतावनी नक्सा जारी गरेको छ ।
जसअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा रातो रङ (रेड अलर्ट) जारी गरेर सम्भावित विपद्को प्रतिकार्यमा जुट्न आह्वान गरिएको छ ।
यसैगरी कोशीको पहाड, मधेस, बागमती र गण्डकीको पहाड तथा तराई, लुम्बिनीको पहाड र पूर्वी तराई तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा सुन्तला रङ (अरेन्ज अलर्ट) मार्फत सतर्क रहन र मौसमी सूचनाबारे अद्यावधिक हुन सुझाइएको छ। बाँकी भूभागहरूमा पहेँलो रङ अङ्कित गरी सचेत रहन आग्रह गरिएको छ ।
