सर्लाही, १२ कार्तिक । सर्लाहीको रामनगरमा दश वर्षअघि भएको एक हत्याको घटनामा सङ्लग्न अभियुक्त अहिले पक्राउ परेका छन् ।
कर्तव्य ज्यान कसुरमा दश वर्षदेखि फरार रहेका रामनगर गाउँपालिका ३ (साबिकको रामनगर बहुअर्बा) बस्ने ५५ वर्षीय विजय रायलाई प्रहरीले पक्राउ गरेको हो ।
रायसहितको सङ्लग्नतामा २०७३ साल चैत १३ गते रामनगर गाउँपालिका ४ बस्ने नागेन्द्रकुमार प्रसादको हत्या गरेका थिए ।
विजय रायसहितको कुटपिटबाट गम्भीर घाइते नागेन्द्रकुमारको सोही साल चैत २३ गते उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल काठमाडौँमा मृत्यु भएको थियो ।
उक्त घटनापछि फरार रहेका विजय रायलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिनुभयो ।
विजय रायलाई कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागार कार्यालय मलङ्गवा चलान गरिएको इन्स्पेक्टर केसीले बताउनुभयो ।
