सर्लाही, १४ कार्तिक । बागमती नदी तथा यसका तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज (शनिबार) एक जरुरी सूचना जारी गर्दै मकवानपुरस्थित कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलस्तर बढ्दै गएकाले नदी तटीय क्षेत्रमा जोखिम हुन सक्ने जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण, कुलेखानी प्रथम जलविद्युत् केन्द्रबाट प्राप्त जानकारीअनुसार शनिबार दिउँसो १२ बजे जलाशयको जलस्तर १ हजार ५२८.१५ मिटर पुगेको छ ।

पानीको हालको बहाव र जलाशयमा भरिरहेको वृद्धिदरका आधारमा साँझ करिब ४ बजेसम्म जलस्तर १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको सूचनामा उल्लेख छ ।

जलाशयको जलस्तर १ हजार ५२८.५० मिटर पुगेपछि पूर्वसतर्कता स्वरूप साइरन बजाउने तथा एसएमएस मार्फत चेतावनी प्रवाह गरिने प्रशासनले जनाएको छ ।

जलस्तर बढ्दै जाँदा बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने र त्यसबाट मुख्य रूपमा सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन, सिस्नेरी खोला र बागमती नदी किनार तथा आसपासका मार्गमा रात्रिकालीन यात्रा नगर्न र नदी किनारमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने, चौपाया चराउनेलगायतका गतिविधि नगर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *