सर्लाही, १६ कार्तिक । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–१० मा दिनदहाडै चोरी भएको छ । स्थानीय पप्पु कुमार चौधरीको घरबाट सोमबार दिउँसो करिब १५ लाख रुपैयाँ बराबरका बहुमूल्य सुनका गरगहना चोरी भएका हुन् ।
चोधरीका अनुसार घरमा कोही पनि नभएको मौका छोपेर चोरले मुख्य गेटको ताल्चा फुटाई घरभित्र प्रवेश गरेका थिए ।
त्यसपछि कोठामा रहेको दराज तोडेर त्यसभित्र राखिएका करिब १५ लाख रुपैयाँ बराबरका सुनका बहुमूल्य गरगहना चोरी गरी फरार भएको बताइएको छ ।
सदरमुकाममै दिनदहाडै घरको ताल्चा फुटाएर ठूलो परिमाणमा गरगहना चोरी भएपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।
पछिल्लो समय मलंगवामा चोरीका घटना बढ्दै गएको भन्दै स्थानीयले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउन थालेका छन् ।
