सर्लाही, १९ कार्तिक । मधेश प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा परेको तीन साता बित्दा पनि राजनीतिक निकास निस्कन सकेको छैन ।
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकार जोगाउन कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी -नेकपा) का शीर्ष नेताहरूबीच संवाद तीव्र बनेको छ ।
गत असोज ३० गते एमालेले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता मुख्यमन्त्री यादवलाई छ । तर उनले अहिलेसम्म विश्वासको मत लिने प्रक्रिया अघि बढाएका छैनन् ।
यसैबीच नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मधेश प्रदेश दौडाहापछि सत्ता समीकरणबारे केन्द्रमा छलफलले गति लिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच मधेश सरकारसहित समसामयिक राजनीतिक विषयमा लामो छलफल भएको छ ।
कांग्रेस स्रोतले जनाए अनुसार छलफल सकारात्मक रहेको छ । तीन दलबीच प्याकेजमा सहमति गरेर वर्तमान सरकारलाई नै निरन्तरता दिने प्रयास भइरहेको बताइएको छ ।
मुख्यमन्त्री यादव पनि शीर्ष नेताहरूसँग छलफल गर्न बुधबार काठमाण्डु पुगेका छन् । उनले आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
‘म पनि अहिले काठमाण्डुमै आइपुगेको छु । यहीँ शीर्ष नेताहरूको बीचमै सकारात्मक रूपमा छलफल भइरहेको छ,’ उनले भने ।
एमालेले यस अघि तीन दलीय सत्ता गठबन्धनबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै समर्थन फिर्ता लिएको थियो । एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको भए पनि अन्य दलहरू त्यसका लागि तयार देखिएका छैनन् ।
केही दिन अघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष ओलीबीच भएको छलफलसमेत निष्कर्षमा पुग्न सकेन । जसपा नेपालभित्र पूर्वमुख्यमन्त्री सरोजकुमार यादव र जितेन्द्र सोनलबीच मुख्यमन्त्री बन्ने आकांक्षाले आन्तरिक प्रतिस्पर्धा बढाएको छ । जसपाले आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आए मात्रै सहभागी हुने अडान राखेको बताइएको छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा हाल १०३ सांसद छन् । विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ मत आवश्यक पर्छ । प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २३, कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन् । संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन् ।
कांग्रेस, एमाले र नेकपाबीच सहमति भएमा वर्तमान सरकारलाई बहुमत सहजै जुट्ने छ । यस्तो अवस्थामा जसपा नेपाल र जनमत प्रतिपक्षमा रहने सम्भावना पनि छ ।
