सर्लाहीमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ, ९८ हजार रुपैयाँ बरामद

Byसदाम हुसैन

२०८३ कार्तिक २४, मंगलवार २०८३ कार्तिक २४, मंगलवार २०८३ कार्तिक २४, मंगलवार

सर्लाही, २४ कार्तिक । सर्लाहीमा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बरहथवा नगरपालिका र लालबन्दी नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार राति करिब १० बजे बरहथवा नगरपालिका-९ स्थित कमल लामाको घरको उत्तरपट्टि रहेको खाली जग्गामा कौडा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

सो क्रममा बरहथवा नगरपालिका-९ का ५५ वर्षीय शान्ता गुरुङ र ४१ वर्षीय दीपक गुरुङ पक्राउ परेका छन् । उनीहरूको साथबाट विभिन्न दरका नेपाली नोट गरी ३६ हजार ५५ रुपैयाँ र १६ वटा कौडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, आज लालबन्दी नगरपालिका-४ हरिभवन टोलस्थित भुवनकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । उक्त स्थानबाट नौ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका-८ का ५४ वर्षीय मिनिलाल तामाङ र ५० वर्षीय रमेश तामाङ, लालबन्दी नगरपालिका-१ का ६६ वर्षीय मकरबहादुर बस्नेत, लालबन्दी नगरपालिका-४ का ३५ वर्षीय सुवास कार्की, ४० वर्षीय दीपक मानन्धर, ५५ वर्षीय अच्छेलाल चौधरी, ४० वर्षीय अमर चौधरी, ३२ वर्षीय गोविन्द श्रेष्ठ र घरधनीका छोरा ४० वर्षीय भुवनकुमार श्रेष्ठ रहेका छन् ।

उनीहरूको साथबाट विभिन्न दरका नेपाली नोट गरी ६२ हजार रुपैयाँ, तासका ६ बुक, १६ वटा कौडा र ६ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

दुवै स्थानबाट पक्राउ परेका ११ जनाको साथबाट कुल ९८ हजार ५५ रुपैयाँ नगद, तासका ६ बुक, ३२ वटा कौडा र ६ थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

प्रहरीले जिल्लामा जुवातास तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *