सर्लाही, २६ कार्तिक । काठमाण्डौमा चलिरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज २ खेल हुँदैछन् ।
पहिलो खेल त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे १२ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ । दोस्रो खेलमा बेलुका ५ बजे कर्णाली याक्स र लुम्बिनी लाइन्सबीच प्रतिस्पर्धा हुनेछ ।
अङ्क तालिकाअनुसार एनपीएलमा काठमाण्डौ गोर्खाज चार जित र एक हारसहित ८ अङ्क जोड्दै शीर्षस्थान छ । सुदूरपश्चिम रोयल्स पनि ८ अंकसहित रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ । तीन जित, एक हार र एक खेलमा नतिजाविहीनसहित लुम्बिनी लायन्स तालिकाको तेस्रो स्थानमा छ ।
त्यस्तै, चितवन राइनोज पाँच अंकसहित चौथो, जनकपुर बोल्ट्स र विराटनगर किंग्स समान ४ अंकसहित पाँचौँ र छैटौँ स्थानमा छन् । कर्णाली याक्स पनि ४ अंकसहित सातौँ स्थानमा रहेको छ । पाँच खेलमध्ये एक खेलमात्र जितेको पोखरा एभेन्जर्स अङ्कतालिकाको पुछारमा रहेको छ ।
एनपीएलमा हिजो भाइटीकाका दिन विश्राम रहेको थियो ।
