सर्लाहीमा मोटरसाइकल दुर्घटनामा २५ वर्षीय युवकको मृत्यु

Byसदाम हुसैन

२०८३ कार्तिक २६, बिहीवार २०८३ कार्तिक २६, बिहीवार २०८३ कार्तिक २६, बिहीवार

सर्लाही, २६ कार्तिक । सर्लाहीको बागमती नगरपालिका–१२, बोटे टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

बुधबार अपराह्न करिब ४ बजे पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पुतली चोकबाट भित्री सडक हुँदै बोटे टोलतर्फ जाँदै गरेको को ११ प ३७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक २५ वर्षीय रूपक विश्वकर्माको मृत्यु भएको हो ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–६ स्थायी घर भएका विश्वकर्मा हाल सर्लाहीको बागमती नगरपालिका-१२ स्थित पुतली चोकमा रहेको दिदीको घरमा बस्दै आएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि हरिवनस्थित नमुना अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले बुधबार अपराह्न ४ बजेर २० मिनेटमा मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृतकले मादक पदार्थ सेवन गरेको पाइएको छ । दुर्घटनाका बेला उनीसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी दर्ता किताब (ब्लुबुक) समेत फेला परेको थिएन ।

तीव्र गति तथा मादक पदार्थ सेवनका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशङ्का छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *