सुन्दरपुर आइपुग्यो १३ जनाको शव

Byसदाम हुसैन

२०८३ कार्तिक २७, शुक्रवार २०८३ कार्तिक २७, शुक्रवार २०८३ कार्तिक २७, शुक्रवार

सर्लाही, २७ कार्तिक ।मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ ।

बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ सुन्दरपुर ल्याइएको हो । शव गाउँ आइपुगेपछि आफन्त, छरछिमेकी र स्थानीयवासी शोकमा डुबेका छन् ।

आज (शुक्रबार) साँझ सुन्दरपुर ल्याइएको हो । शव गाउँ आइपुगेपछि आफन्त, छरछिमेकी र स्थानीयवासी शोकमा डुबेका छन् ।

एउटै गाउँका १३ जनाको एउटै दुर्घटनामा मृत्यु भएपछि सुन्दरपुरमा सामूहिक अन्त्येष्टिको तयारी गरिएको छ । मृतक सबैको शुक्रबार राति नै एकै स्थानमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गरिने मृतकका छिमेकी नितेश यादवले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार मृतक १३ जनाको गाउँको पश्चिमतर्फ रहेको लखन्देही नदीमा सामूहिक अन्त्येष्टि गरिनेछ ।

मृतकका आफन्तले उचित राहत र क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान लिएपछि हेटौँडा अस्पतालमा शव राखिएका थिए ।

पीडित परिवारले मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका एक सदस्यलाई रोजगारी र घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका थिए ।

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवारबीच सहमति भएपछि आफन्तले शुक्रबार शव बुझेका हुन् । सहमतिअनुसार कानुनबमोजिम पाउने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारले पहल गर्नेछ ।

थप राहत तथा क्षतिपूर्तिको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक आग्रह गर्ने सहमति भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले बताए ।

दुर्घटनामा सुन्दरपुरका १३ जना र कविलासी नगरपालिका–८ अगर्वाका हायस चालक ३० वर्षीय रवीशङ्करकुमार मण्डल गरी १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा अन्य ६ जना घाइते भएका थिए ।

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही फर्किने क्रममा बिहीबार बिहान करिब पौने ६ बजे हायस चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

एउटै गाउँका १३ जनाको मृत्यु भएपछि चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको थियो । गाउँपालिकाले मृतक परिवारलाई जनही ५० हजार रुपैयाँ र मधेस प्रदेश सरकारले प्रत्येक मृतक परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *