सर्लाही, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेसका जनताले यसपटक दिएको जनमतानुसार परिवर्तन महसुस गराउन नसके आउँदो निर्वाचनमा भोट माग्न नजाने घोषणा गरेका छन् ।

छठ पर्व मनाउन शनिबार (कात्तिक २८) जनकपुरधाम पुगेका उनले त्यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मधेसी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताएका हुन् ।

उनले वर्तमान अवसर कुनै व्यक्तिको राजनीतिक प्रगतिका निम्ति नभई मधेसी जनताको मुहारमा खुसी ल्याउन र उनीहरूको जीवनमा परिवर्तन गर्न प्राप्त भएको उल्लेख गरे ।

जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आउँदो निर्वाचनमा नागरिकले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने उनको चेतावनी छ ।

लामिछानेले राजनीतिमा जनतालाई झुक्याएर भोट माग्ने प्रवृत्ति आफूलाई स्वीकार्य नभएको बताए । जति बोल्ने हो त्यति नै गर्नुपर्ने भन्दै उनले जनतासँग गरेका वाचा पूरा गरिनुपर्नेमा जोड दिए ।

उनले रास्वपाभित्र सरकारका काम–कारबाहीबारे हुने आलोचना, सुझाव र बहसलाई पार्टी फुटको संकेतका रूपमा नबुझ्न आग्रह गरे । रास्वपा आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले आफ्नै सरकारका काममा पनि आवश्यकताअनुसार आलोचना र सुझाव दिने गरेको उनको भनाइ छ ।

सरकारले गरेका केही काममा त्रुटि देखिए सुझाव र आलोचना गर्दा पार्टीभित्र विवाद भएको भन्दै विभिन्न भाष्य निर्माण गर्ने गरिएको उनले उल्लेख गरे । उनले त्यसलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा बुझ्न आग्रह गरे ।

लामिछानेले सरकारले आफ्ना प्रतिबद्धता पूरा गर्न काम गरिरहेको जिकिर गरे । उनले पार्टीका नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *