सर्लाही, २८ पुष । सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
साधारण सभा संस्थाका अध्यक्ष देवेन्द्र यादवको अध्यक्षता तथा मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्री जंगीलाल रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभाको सुरुवात संस्थाका मुख्य प्रबन्धक शिवशंकर जयसवालले स्वागत मन्तव्यबाट गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री रायले संस्थाको निरन्तर प्रगतिप्रति शुभकामना व्यक्त गर्दै सञ्चालक समिति तथा कर्मचारीहरूको कामको प्रशंसा गर्नुभयो । उहाँले चुनौतीपूर्ण परिस्थितिमा पनि समाज र समुदायलाई निरन्तर सेवा पुर्याउँदै आएको यस सहकारीको योगदान प्रशंसनीय भएको बताउनुभयो ।
मन्त्री रायले पछिल्ला दिनमा केही सहकारीमा पारदर्शिता र अनुशासनहीनताको समस्या देखिएको उल्लेख गर्दै सहारा पञ्चकन्या सहकारीमा त्यस्तो समस्या नदेखिनु र संस्थाको आर्थिक अवस्था निरन्तर सुदृढ बन्दै जानु सकारात्मक पक्ष भएको धारणा व्यक्त गर्नुभयो ।
साधारण सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यकारी अध्यक्ष देवेन्द्र कुमार यादवले २७ हजार रुपैयाँ शेयर पूँजीबाट सुरु भएको संस्थाको कुल शेयर पूँजी हाल ७९ लाख २५ हजार २ सय रुपैयाँ पुगेको जानकारी दिनुभयो ।
सभामा संस्थाका पूर्व सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरू, शेयर सदस्य, कर्मचारी, नागरिक समाजका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा असल ऋणी, बचतकर्ता तथा सेवाकेन्द्रका असल फिल्ड कार्यकर्तालाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिनुका साथै झोला समेत वितरण गरिएको थियो ।
