सर्लाही, २८ पुष । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकीकरण औपचारिक रूपमा सम्पन्न भएको छ ।
दुवै दलबीच २०८२ साल पौष १३ गते एकीकरण गर्ने सहमति गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो । सोही सहमतिलाई आधार मानी एकीकरण प्रक्रिया अघि बढाइएको हो ।
सम्झौताअनुसार एकीकरणपछि दलको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहनेछ भने पार्टीको चुनाव चिन्ह छाता रहनेछ। पार्टीको झण्डा माथिल्लो भाग रातो, बीचमा सेतो र तल्लो भाग हरियो रंगको रहने तथा बीच भागमा ढल्किएको छाता रहने व्यवस्था गरिएको छ ।
एकीकृत पार्टीलाई सञ्चालन गर्न ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । समन्वय समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ। दुवै पार्टीका केन्द्रीय समिति पूर्ण रूपमा समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकाय रहनेछ ।
सम्झौतामा दुवै पार्टी मातहत रहेका सबै तह र निकायका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठन, विभाग तथा संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार क्रियाशील रहने उल्लेख गरिएको छ । समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म संगठनहरू आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रहनेछन् ।
२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्रमा केन्द्रीय समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमति पनि गरिएको छ । साथै, एकीकरणसम्बन्धी थप प्रक्रिया राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुनअनुसार अघि बढाइनेछ ।
केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक तथा अध्यक्षबाट प्रमाणिकरण गरिने व्यवस्था छ । समन्वय समितिमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन् । समितिमा विभिन्न राजनीतिक तथा सामाजिक पृष्ठभूमिका ४३ जना सदस्य समेटिएका छन् ।
सम्झौतासँगै मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि महिला, अल्पसंख्यक र दलित समूहमा यसअघि दिइएको उम्मेदवारी निस्क्रिय गर्ने सहमति पनि गरिएको छ ।
सम्झौतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । सम्झौता २०८२ साल पौष २७ गते सम्पन्न भएको हो ।



