सर्लाही, २९ पुष । सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ कर्मैयामा सञ्चालनमा रहेको न्यु कालिका होटल एण्ड गेष्ट हाउसमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
प्रेम घिसिङद्वारा सञ्चालित उक्त होटलमा उनका भाइ लालबहादुर घिसिङ उपस्थित रहेको बेला रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–६ बेल्डी टोल निवासी लाल गिरीका २९ वर्षीय छोरा रमेश गिरी (झन बहादुर गिरी) होटलमा आएका थिए ।
उनले खाजा–नास्ता खाई मदिरा सेवन गरेपछि आफू प्रहरीका उच्च अधिकारीहरूसँग पहुँच रहेको भन्दै धाकधम्की दिई डरत्रास फैलाएको र हातपात गर्न खोजेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
प्रहरीले रमेश गिरीलाई नियन्त्रणमा लिई लालबहादुर घिसिङको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अभद्र व्यवहार कसूरमा १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।
