वासिङ्टन, २९ पुष । । भेनेजुएलाकी विपक्षी नेतृ एवं नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचादोले बिहीबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट गर्ने भएकी छिन् ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले काराकसबाट नियन्त्रणमा लिएको केही हप्तापछि यो भेट हुन लागेको ह्वाइट हाउसले पुष्टि गरेको छ ।
सन् २०२४ को विवादित चुनावमा आफ्नो समूहले जित हासिल गरेको दाबी गरे पनि ट्रम्पले मचादोलाई नयाँ नेताको रूपमा समर्थन गर्न भने अस्वीकार गर्दै आएका छन् । अमेरिकाले मचादोको सट्टा मदुरोकी पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई समर्थन गरेको छ ।
मचादोले मदुरोविरुद्ध चालेको कदमका लागि ट्रम्पलाई व्यक्तिगत रूपमा धन्यवाद दिन चाहेको र आफ्नो नोबेल पुरस्कार उनलाई नै दिन इच्छुक रहेको बताएकी छिन् ।
ट्रम्पले यसलाई ‘ठूलो सम्मान’ भने पनि नोबेल कमिटीले पुरस्कार हस्तान्तरण गर्न नमिल्ने प्रस्ट पारेको छ । यसअघि ट्रम्पले मचादोले नोबेल पुरस्कार स्वीकार गरेकोमा असन्तुष्टि जनाएका थिए, जुन पुरस्कार पाउन ट्रम्प आफैँ लामो समयदेखि इच्छुक देखिएका छन् ।
मदुरो पदच्युत भएपछि ट्रम्पले मचादोलाई ‘एक असल महिला’ भने पनि उनले देशभित्र सम्मान र समर्थन प्राप्त गर्न नसकेको टिप्पणी गरेका थिए ।
अमेरिकाले रोड्रिग्वेजलाई अन्तरिम राष्ट्रपतिको रूपमा समर्थन गर्दै उनलाई एक ‘सहयोगी’ को संज्ञा दिएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले रोड्रिग्वेजको टोलीले अमेरिकासँग राम्रो सहकार्य गरिरहेको बताएकी छिन् ।
तर, मचादोले भने देशको नेतृत्व आफ्नो गठबन्धनले नै गर्नुपर्ने अडान राख्दै आएकी छिन्। उनले रोड्रिग्वेजलाई भेनेजुएलामा निर्दोष जनतामाथि दमन गर्ने मुख्य योजनाकारको रूपमा चित्रण गरेकी छिन्।
अर्कोतर्फ, रोड्रिग्वेजले भेनेजुएलाको सरकारले नै देश चलाउने र यहाँ कुनै बाह्य एजेन्टको शासन नरहेको भन्दै ट्रम्पको दाबीलाई खण्डन गरेकी छिन् ।
