सर्लाही, ३० पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र साह (बालेन)लाई महोत्तरीबाट चुनाव लड्न पार्टी कार्यकर्ता र आफन्तले आग्रह गरेका छन् ।
मंगलबार ज्वागलस्थित सम्पर्क कार्यालयमा भेटवार्ता गर्दै महोत्तरीका रास्वपा कार्यकर्ता र आफन्तले आफ्नो पुर्खाको भूमिबाट प्रतिनिधिसभाको चुनावमा प्रतिस्पर्धा गर्न आग्रह गरेको उनीनिकट एक नेताले जानकारी दिए ।
‘आफ्नै क्षेत्रबाट उठ्नु, मातृभूमिबाट उठ्दा पुर्खाको आशिर्वाद लाग्छ भन्नुभयो,’ ती नेताले भने, ‘उहाँले करिब एक घण्टा जिल्लावासीका कुरा सुन्नुभयो । विचार गरौँला भन्नुभएको छ ।’
शाहले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि झापा रास्वपाका नेताहरूलाई ज्वालगल बोलाएर शाहले चुनावको तयारीका बारेमा छलफल गरेका थिए ।
रास्वपामा प्रवेश गरे पनि बालेन पार्टी कार्यालय च:मति पुगेका छैनन् । उनी आफ्नो राजनीतिक गतिविधि ज्वालगस्थित सहयोगी कुमार व्यञ्जनकारको घरबाट चलाइरहेका छन् ।
