सर्लाही, ३० पुष । सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय खुर्कोट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँच गर्दा अमेरिकी डलर ५७ हजार (नेपाली  ८२ लाख रुपैयाँ बराबर ) सहित युवराज नेवारलाई पक्राउ परेका छन् ।

सिन्धुली गोलन्जोर गाउँपालिका-७ माथिल्लो बजारस्थित चेकपोष्टमा सवारी साधनहरूलाई चेक गर्ने क्रममा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमोमा सवार नेवारसँग रहेको कालो झोलामा ५७ हजार अमेरिकी डलर (१०० को नोट ५७० वटा) र नेपाली बाह्र हजार फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।

सिन्धुलीको घ्याङलेक-२ बस्तीपुर, हायुटारमा रहेको नेपाल एसबीआई बैंकमा मंगलबार राति लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेको छ । त्यसै क्रममा जाँच गर्दा अमेरिकी डलरसहित युवराज पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *