सर्लाही, ०५ माघ । सर्लाहीको लालबन्दीमा सञ्चालित आँखा उपचार केन्द्र स्तरोन्नतिका लागि लायन्स क्लब्स इन्टरनेशनलले दुई करोड बढीको उपकरण सहयोग गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखाले लालबन्दी नगरपालिका–५, जरुवापानीमा सञ्चालन गरिरहेको आँखा उपचार केन्द्रलाई स्तरोन्नति गरी अस्पतालको रुपमा विकास गर्न लायन्स क्लब्सले दुई करोड बढीको उपकरण सहयोग गरेको हो ।
लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसनबाट आँखा उपचार केन्द्रका लागि दुई करोड २० लाख २१ हजार ८६० रुपियाँ बराबरको उपकरण प्रदान गरी जडानको काम धमाधम भइरहेको लायन्स डिस्ट्रिक्ट ३२५ एच का पूर्व काउन्सिल चेयरपर्सन भरतप्रसाद ढुंगेलले बताए ।
लायन्स इन्टरनेशनल ३२५ एचले आज लालबन्दीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ढुङ्गेलले सर्लाही र छिमेकी जिल्लाहरु तथा भारतीय नागरिकलाई समेत सेवा प्रदान गर्ने उद्देश्यले विशिष्टिकृत आँखा उपचार सेवा प्रदान गर्ने तयारी गरिएको बताएका हुन् ।
दुई करोड २० लाख २१ हजार ८६० रुपियाँ बराबरको लागतमा खरिद गरेर ल्याइएको अत्याधुनिक अपरेटिङ माइक्रोस्कोप, फेकोइमल्सिफिकेसन मेसिन, उच्च क्षमताको स्लिट ल्याम्प, बायोमाइक्रोस्कोप र अन्य उपकरणहरु आँखा उपचार केन्द्रमा जडान भइरहेको ढुंगेलले बताए ।
नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाले भर्खरै प्रशस्त कोठाहरु रहेका सुविधायुक्त भवन निर्माण गरेकाले लायन्स क्लब्स इन्टरनेशनलद्वारा प्राप्त भएको उपकरण जडान गर्न असाध्य सहज भएको उपशाखा सभापति ध्रुवप्रसाद घिमिरेले बताएका छन् ।
उनले लायन्स क्लब्स इन्टरनेशनलको सहयोगले यस क्षेत्रका बिरामीलाई अत्यन्त सहज र सुलभ सेवा प्राप्त हुने अवस्था आएको भन्दै खुसी व्यक्त गरेका छन् ।
लायन्स क्लब्स इन्टरनेशनलले रेडक्रसलाई प्रदान गरेको उक्त सामग्री माघ ७ गते बुधबार मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्यमन्त्री जंगीलाल रायलगायतको उपस्थितिमा औपचारिक रुपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको लायन्स क्लब्स इन्टरनेशनल ३२५ एच डिस्ट्रिकका एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेले बताए ।
उनका अनुसार सर्लाही, रौतहट, महोत्तरी, सिन्धुली र भारतको बिहार क्षेत्रका करिव १० लाख मानिसलाई प्रत्यक्ष सेवा दिने उद्देश्यले आँखा उपचार केन्द्रका लागि आधुनिक उपकरणहरु प्रदान गरिएको हो ।
आँखा उपचार केन्द्रमा अत्याधुनिक र आधुनिक प्रविधिबाट आँखाको उपचार तथा शल्यक्र्रियाका लागि तत्काल लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसनले नै एक जना चिकित्सक र छ जना पारामेडिक्स उपलब्ध गराउने भएको छ ।
विशेषज्ञ चिकित्सक र आधुनिक उपकरणको व्यवस्था भएपछि आँखाको विशिष्टिकृत उपचार सेवा र शल्यक्र्रियाका लागि जनकपुर, वीरगन्ज, काठमाडौंलगायत ठाउँमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
अहिले आँखा उपचार केन्द्रका लागि सहयोग प्रदान गरेको लायन्स क्लब्सले यसअघि देखि नै यहाँ रक्तदान, वृक्षरोपण, सरसफाई, कम्बल वितरणलगायतका सामाजिक काम गर्दै आइरहेको छ ।
