सर्लाही, २३ माघ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बैरगनिया बजार नजिक गुवाबारी घाट क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को २० औँ बटालियन र कुन्डवा चैनपुर प्रहरीको संयुक्त टोलीले कारबाही गर्दै उनलाई नियन्त्रणमा लिएको हो ।
सुरक्षा निकायका अनुसार नियमित जाँचका साथै प्राप्त गोप्य सूचनाको आधारमा सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा पल्सर मोटरसाइकलमा सवार एक संदिग्ध युवकलाई रोकी जाँच गर्दा दुई थान घरेलु पेस्तोल र चार थान जिउँदा गोली बरामद गरिएको हो ।
पक्राउ पर्ने व्यक्ति भारत, बिहार राज्यको पूर्वी चम्पारण जिल्ला अन्तर्गत कुन्डवा चैनपुरका ३६ वर्षीय मोहम्मद इम्तियाज रहेको जनाइएको छ । उनी सीमावर्ती क्षेत्रमा अवैध गतिविधिमा संलग्न रहँदै आएको आशंका सुरक्षा स्रोतले व्यक्त गरेको छ ।
फुलवरिया घाट हुँदै हतियार ओसारपसार भइरहेको सूचनापछि एसएसबी निरीक्षक आलोक कुमारको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति गुवाबारी अफिस घाट आसपासबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । अगामी फागुन २१ गते हुने निर्वाचनको समय नजिकिँदै जाँदा सीमावर्ती आवतजावतमा नेपाली सुरक्षाकर्मीले सुरक्षा सतर्कता थप कडा बनाउनुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरूले बताएका छन् ।
