सर्लाही, ०१ फागुन । प्रतिनिधिसभाको फागुन २१ मा हुन गइरहेको निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता खोल्ने दल र उम्मेदवारको संख्या न्यून रहेको छ ।
प्रतिनिधिसभा चुनावमा भाग लिनेमध्ये ४ राजनीतिक दलले मात्रै चुनाव प्रचारप्रसारका लागि आर्थिक कारोबार गर्न बैंक खाता खोलेका छन् । बैंक खाता राजनीतिक दल र उम्मेदवारले अनिवार्य खोल्नुपर्ने निर्वाचन आयोगले अनिवार्य व्यवस्था गरेको थियो ।
निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार शुक्रबारसम्म ४ राजनीतिक दल र ४ सय ५४ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् ।
चुनाव प्रचारका लागि खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा (संयुक्त) र राष्ट्रिय जनमोर्चा रहेको भट्टराईले जानकारी दिए ।
निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुखसमेत रहेका सहसचिव भट्टराईले न्यून संख्यामा मात्रै राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारका लागि बैंक खाता खोलेको पाइएको बताए ।
आयोगले आगामी निर्वाचनका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२’ ल्याएर कार्यान्वयनमा लगेको छ ।
यो कार्यविधिले प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार खर्च गर्नका लागि छुट्टा-छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको छ ।
