सर्लाही, ०१ फागुन । सर्लाहीमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै एक हप्ता विदेशी नम्बर प्लेटका गाडी संचालनमा रोक लगाइने भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय मलंगवामा सुरक्षा अधिकारीसहित भएको राजनीतिक दलको बैठकले फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका दुई पांग्रे र चार पांग्रेलगायतका सवारी साधन संचालन गर्न नदिने निर्णय गरेको हो ।
सो अवधिमा कसैले पनि विदेशी नम्बर प्लेटका गाडी संचालन गरेको पाइएमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रण लिने निर्णय भएको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी एक हप्ता विदेशी नम्बर प्लेटका गाडी संचालनमा प्रतिवन्ध लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले बताए ।
सर्लाहीसहित मधेश प्रदेशमा भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कारपियोसहितका सवारी साधनको अत्यधिक प्रयोग हुने गरेको छ ।
बैठकमा निर्वाचन आचारसंहिता, २०८२ जिल्लास्थित सबै राष्ट्रसेवक तथा राजनीतिक दलले इमान्दारिताका साथ परिपालना गर्ने निर्णय भएको छ ।
त्यस्तै बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षा तथा समसायिक विषयमा समिक्षा गर्नुका साथै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दलले प्रशासनलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस्तै जिल्लास्थित राजनीतिक दलको बैठकमा क्षेत्र नं. ४ मा पर्ने बलरा नगरपालिका–१, मा रहेको कृषि सेड मिर्जा हथिऔल मतदान केन्द्रमा सुरक्षित भौतिक पूर्वाधार नभएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला सुरक्षा समितिले वडाध्यक्षसहित सरोकारवालासँग छलफल गरी निर्णय गर्ने निर्णय भएको छ ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी कडरिया, मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलिया र सुरक्षा निकायका प्रमुखसहितले आज नै जिल्लाका संचारकर्मीसँग चुनावका सम्वन्धमा अन्तरक्रिया गरेका छन् ।

