सर्लाही, १४ फागुन । छिमेकी मुलुक भारत बिहारको बक्सर जिल्लास्थित दुल्हा दुल्हीको स्वंम्वर भईरहेकै बेला दुल्हीलाई गोली हानी हत्या गरिएको छ ।
बक्सर जिल्लाको चौसा नगर पंचायतको मल्लाह टोली क्षेत्रमा आयोजित एक विवाह समारोह अचानक हिंसात्मक घटनापछि शोकमा परिणत भएको छ । जयमाल कार्यक्रम चलिरहेका बेला दुलहीमाथि गोली प्रहार भएपछि समारोह स्थलमा भागमभाग मच्चिएको प्रहरीले जनाएको छ ।
प्राप्त जानकारीअनुसार बाराती (जन्ती) सुलेमनपुरबाट चौसा पुगेको थियो। विवाहको मुख्य विधि जयमाला अर्थात स्वयंवर कार्यक्रम चलिरहेका बेला अचानक छिमेकी भनिएका एक युवक स्टेजमा चढेका थिए । त्यसपछि उनले दुलही आरती कुमारी (१८ वर्ष) माथि नजिकैबाट गोली प्रहार गरेका थिए ।
गोली लाग्नेबित्तिकै दुलही गम्भीर घाइते भई मञ्चमै ढलेकी थिइन् । घटनापछि विवाह स्थलमा उपस्थित जन्ती तथा स्थानीय बासिन्दाबीच भागदौडको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । गोली प्रहार गरेलगत्तै आरोपी युवक घटनास्थलबाट फरार हुन सफल भएको बताइएको छ ।
घटनापछि परिवारजन तथा स्थानीयको सहयोगमा घाइते दुलहीलाई तत्काल सदर अस्पताल पुर्याइएको थियो । चिकित्सकहरूले प्रारम्भिक उपचार गरेपछि उनको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि वाराणसी स्थित उच्चस्तरीय अस्पतालमा रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटना प्रेम सम्बन्धसँग जोडिएको आशंका गरिएको छ । प्रहरीले आरोपी युवक दुलहीकै छिमेकी रहेको र व्यक्तिगत सम्बन्धका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।
घटनाबारे जानकारी प्राप्त हुनेबित्तिकै मुफस्सिल थाना प्रहरी टोली घटनास्थल पुगेको थियो र विस्तृत अनुसन्धान सुरु गरिएको छ । फरार आरोपीलाई पक्राउ गर्न विभिन्न स्थानमा निरन्तर छापामारी तथा खोजी अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन परिवारजन, प्रत्यक्षदर्शी तथा स्थानीयसँग बयान लिने कार्य जारी राखेको छ ।
