सर्लाही, १५ फागुन । सर्लाहीमा सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्यामा संलग्न आरोपमा प्रहरीले नेपाल–भारत सिमानाबाट दुई जनालाई पक्राउ गरेको छ ।
फागुन ३ मा साँझ गोली प्रहार बाट सब–इन्जिनियर यादवको हत्या भएको थियो । मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवलाई दुई जना मानिसले घर बाहिर बोलाएर गोली प्रहार गरेका हुन् ।
हत्यामा संलग्न दुई जना आरोपीलाई पक्राउ गरिएको मधेस प्रदेशका डीआईजी गोविन्द थपलियाले बताए । उनले भने– ‘आरोपीहरूलाई सीमा नाकाबाट पक्राउ गरेर घटनाबारे सोधपुछ भइरहेको छ ।’ पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
भेट्न बोलाएपछि बाहिर निस्कँदा हत्यामा संलग्नहरूले उनको छातीमा गोली प्रहार गरेर भागेका थिए । नेपाल इन्जिनियर्स एसोसिएसनले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर हत्यारालाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको थियो ।
सब–इन्जिनियर यादवको हत्याबारे मधेस प्रदेश प्रहरी कार्यालय र वीरगन्जस्थित नेपाल प्रहरी प्रदेश कार्यालयका अधिकृतहरूले अनुसन्धान गरेका थिए ।

