सर्लाही, ०५ चैत । लहानस्थित प्रादेशिक अस्पतालमा कार्यरत डा. बृजेन्द्रकुमार साहको सरुवा भएको दुई महिना नाघ्यो । तर, उनी अझै पनि मन्त्रालयले खटाएको ठाउँमा हाजिर नभएको पाइएको छ ।

आठौं तहका मेडिकल अधिकृत साहलाई मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ २ मै सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेको थियो ।

लहानकै बासिन्दा उनी लहानमा जीवन रक्षा अल्ट्रासाउन्ड खोलेका छन् । तर, सरकारी अस्पतालमा समय नै नदिने र आफ्नै क्लिनिकमा अधिकांश समय दिने गरेको स्थानीयको गुनासोपछि मन्त्रालयले उनको त्यहाँबाट सरुवा गरेको थियो ।

कानुनतः सरुवा भएको २१ दिनभित्र खटाइएको ठाउँमा हाजिर भइसक्नुपर्छ । तर, अहिलेसम्म उनी अटेर गरी लहानमै बस्दै आएका छन् भने मन्त्रालयले पनि सरुवा कार्यान्वयन गर्न कुनै चासो नदेखाएको पाइएको छ ।

साहले भने आफ्नो घर लहानमै भएको र आफ्नो आवश्यकता पनि लहानमै भएकोले नगएको प्रतिक्रिया दिए । सरकारी अस्पतालमा कम र आफ्नो निजी क्लिनिकमा बढी समय दिएको कुरा पनि उनले स्वीकार गरेका छन् । मेरो सरुवा भए पनि मेरो आवश्यकता यही छ, त्यसैले नगएको हो,’ उनले भने, ‘मैले आफ्नो निजी क्लिनिकमा बढी समय दिएको पनि सत्य हो, तर त्यसमा पनि कारण छ ।’

मन्त्रालयका सचिव डा. प्रमोद यादवले भने यसबारेमा आफूले बुझ्ने बताए । ‘सरुवाको निर्णय कार्यान्वयन हुन्छ,’ उनले भने, ‘यसबारेमा म बुझ्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *