सर्लाही, १० चैत । आर्थिक वर्ष ०८२/८३ का लागि मधेश प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये ११.८२ प्रतिशत मात्र खर्च गरेको छ ।
चालू आवमा मधेश सरकारको चालूतर्फ १६ अर्ब ४६ करोड ५५ लाख, पुँजीगततर्फ ३० अर्ब ५१ करोड ७८ लाख गरी कुल ४६ अर्ब ९८ करोड ३३ लाख बजेट विनियोजन गरेको थियो ।
प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार आठ महिनामा चालूतर्फ तीन अर्ब ४६ करोड ७३ लाख र पुँजीगततर्फ दुई अर्ब आठ करोड ६३ लाख कुल पाँच अर्ब ५५ करोड ३७ लाख खर्च भएको छ ।
खर्चका आधारमा चालूतर्फ २१.०६ र पुँजीगततर्फ ६.८४ प्रतिशत खर्च हो । धेरै योजनाहरू टेन्डर प्रक्रियामा गइसकेका र त्यसको भुक्तानी नदिएसम्म खर्च नदेखिने हुँदा लेखा नियन्त्रणको तथ्यांकमा खर्च कम देखिएको मधेश प्रदेशका आर्थिक मामिलामन्त्री महेशप्रसाद यादवले बताए ।
तेस्रो त्रैमासको अन्तिम महिना चैतसम्म ५० प्रतिशत खर्च हुने उनको भनाइ छ । उनले भने, ‘बढी बजेट परिचालन गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयमातहतका आठवटै जिल्लामा रहेका कार्यालयमार्फत योजना टेन्डर प्रक्रियामा गइसकेकाले अब क्रमश: खर्च बढ्छ ।’
