सर्लाही,चैत्र २३ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बसिरहेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा केहीबेर अघिबाट बैठक सुरु भएको हो।
बैठकले निर्वाचनको परिणामको समीक्षादेखि पार्टीको आगामी योजना तय गर्नेछ। यसअघि कार्यसंयोजन समितिको बैठक बिहीबार बसेको थियो।
बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावी हारको कारण औँल्याउँदै प्रतिवेदन पेस गरेका थिए। उनले अब पार्टी पुनर्गठन गरेर महाधिवेशनमा जाने प्रस्ताव राखेका छन्।
पार्टीले तत्कालै साङ्गठनिक, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने प्रस्तावमा उल्लेख छ।
अबको तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण गरिसक्ने, पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्ने र ६ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव छ।
चुनावी हारपछि पार्टी नेतृत्वबाट प्रचण्ड, सहसंयोजक माधव नेपालसहित सबै शीर्ष नेताहरूलाई नेतृत्व छाड्न दबाब छ। तर प्रचण्डसहित शीर्ष नेताहरूले पार्टी शुद्धीकरण गरेर मात्रै महाधिवेशनमा जाने बताउँदै आइरहेको छ।
