सर्लाही, २३ चैत । पाँचौं संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुने भएको छ ।

आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानले चन्द्रनगर गाउँपालिकासँग सहकार्य गरी आगामी बैशाख १५ गतेदेखि १७ गतेसम्म चन्द्रनगरस्थित प्रशिद्ध पर्यटकीयस्थल नाढीमन ताल परिसरमा ग्रामीण चलचित्र महोत्सव गर्ने भएको हो ।

आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटा र चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोबिच महोत्सव आयोजनाबारे सहमति भएको छ ।

नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित कथानक चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको महोत्सव पहिलो पटक मधेश प्रदेशमा आयोजना हुने भएको हो ।

“हिमाल, पहाड, तराई कोही छैन पराइ” भन्ने मूल नारालाई आत्मसात गर्दै विगतका संस्करण पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

यसअघि गोरखाको लाप्राक, काभ्रेको भकुण्डेबेसी, रामेछाप र रसुवामा महोत्सव सम्पन्न भएको थियो । महोत्सवका लागि आह्वान गरिएका नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रतर्फ फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका फिल्म गरी ५० भन्दा बढी आवेदन प्राप्त भएका छन् । तीमध्ये निर्णायक मण्डलबाट छनोट गरिएका फिल्म महोत्सवमा प्रदर्शन गरिने छ ।

उत्कृष्टलाई विभिन्न विधामा अवार्डसमेत प्रदान गरिने भएको छ । मनोनयन सूची आगामी साता घोषणा गरिने आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *