सर्लाही, २० साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा ‘श्रम संसार रोजगार पोर्टल’ (www.shramsansar.gov.np) र ‘श्रम संसार एप’मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

विभागले जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(३) र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ७ अनुसार आवश्यक विवरण खुलाई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था यथावत रहने तर, उक्त विज्ञापन अब श्रम संसार पोर्टलमा समेत राख्नु पर्ने उल्लेख गरेको छ । विज्ञापन पत्रिकारमा मात्रै प्रकाशित हुँदा नागरिक एपमार्फत जानकारी पाउन नसकिने भएकोले अनलाइन प्रकाशनलाई अनिवार्य बनाइएको हो ।

विभागले सबै वैदेशिक रोजगार व्यवसायीहरूलाई वैदेशिक रोजगारका लागि कामदार पठाउन विज्ञापन प्रकाशन गर्दा श्रम संसार पोर्टल वा एपमा अपलोड गर्न र सम्पूर्ण विवरण समेट्न सूचितसमेत गरेको छ । नयाँ व्यवस्था अनुसार अनलाइनमा विज्ञापन अपलोड नगरेमा अपूर्ण ठहरिने र नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

सरकारले श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याएपछि उक्त एपबाट समेत नागरिकहरूले सजिलै विज्ञापन हेर्न सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *