सर्लाही,२५ चैत्र । अमेरिका-इजरायल-इरान युद्धका कारण कच्चा पदार्थ आयात बन्द भएसँगै नेपालमा सञ्चालित प्लास्टिक उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् ।
एक महिनाभन्दा बढी समयदेखि कच्चा पदार्थ आयात ठप्प भएपछि प्लास्टिक उद्योगहरू धराशायी बनेको विराटनगरका उद्योगी बताउँछन् । यहाँका प्लास्टिक उद्योग कच्चा पदार्थमा भारतको भर पर्दै आएका छन् । कच्चा पदार्थ ल्याउनका लागि एलसी खुलिसकेपछि भारतीय कम्पनीहरूले सामान नपठाएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए ।
उनले भने, ‘७० देखि ८० प्रतिशत प्लास्टिक उद्योगहरू भारतका रिलायन्स इन्डस्ट्रिज, ओएनजीसी र आईओसीएल जस्ता ठूला कम्पनीको कच्चा पदार्थमा निर्भर छन् । ती कम्पनीहरू अहिले मौन छन् । सामान किन नपठाएको भन्दा जवाफ दिँदैनन् ।’
विगतमा प्रतिटन १ हजार डलरमा पाइने कच्चा पदार्थको भाउ अहिले १७ सय डलर पुगेको उद्योगी पवन सारडा सुनाउँछन् ।
उनी भन्छन्, ‘अझ दु:खद त मूल्य बढेपछि भारतीय कम्पनीहरूले दुई महिनाअघि एलसी खोलिसकेका सामानहरू पनि पठाउन आनाकानी गरिरहेका छन् ।’
कच्चा पदार्थ नआएका कारण नेपालका उद्योगहरूले ६० प्रतिशतसम्म उत्पादन कटौती गरेको उनले बताए । जसका कारण औषधी उद्योग, पानी उद्योग र खाद्यान्न प्याकेजिङको उद्योग पनि बन्द हुने अवस्थामा पुगेका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पश्चिम एसियामा चर्किएको द्वन्द्वको प्रत्यक्ष असर नेपाली उद्योगमा परेको बताए ।
७० प्रतिशतसम्म वृद्धि
कच्चा पदार्थको आपूर्ति बन्दपछि प्लास्टिकजन्य सामानको मूल्य ७० प्रतिशत बढेको छ । डलर र इन्धनको मूल्यवृद्धिसँगै कच्चा पदार्थको मूल्य ७० प्रतिशतभन्दा बढीले अकासिएको उद्योगीहरूले बताए ।
उद्योगी नन्द किशोर राठीले भने ‘कच्चा पदार्थको अभाव र चर्को मूल्यले गर्दा उद्योगहरूले उत्पादन लागत धान्न नसक्ने अवस्था छ । भारतले आफ्नो औद्योगिक क्षेत्र जोगाउन केमिकल र सोल्भेन्टजन्य कच्चा पदार्थको आयात शुल्क शून्यमा झारेको छ, नेपाल सरकारले पनि यस्तै राहतका कदम चाल्न ढिलाइ गर्नु हुँदैन ।’
विश्वव्यापी तनाव र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण प्लास्टिकजन्य कच्चा पदार्थको मूल्यमा ७० प्रतिशतसम्म वृद्धि भएपछि उद्योगीहरूले तत्काल समस्या समाधानका लागि सरकारसँग माग गरेका छन् ।
मोरङ उद्योग व्यापार अध्यक्ष अनुपम राठीले प्लास्टिक रिसाइक्लिङ उद्योगलाई प्रोत्साहन गर्न कच्चा पदार्थको रूपमा ‘स्क्रयाप’ आयातमा देखिएको कानुनी जटिलता फुकाउन सरकारलाई आग्रह गरे ।
यसो गर्दा विदेशी मुद्राको बचत हुने र उद्योगहरूले सस्तोमा कच्चा पदार्थ पाउने सजिलो हुने भन्दै उनले नत्र औषधि, खानेपानी, सिमेन्ट र खाद्यान्नजस्ता अत्यावश्यक उद्योगको प्याकेजिङमा समेत ठूलो संकट ल्याउने राठीले बताए ।
राठीले भने, ‘समस्या समाधानका लागि नेपाल सरकारले तत्कालै भारतीय राजदूतावासमार्फत वा उच्चस्तरीय कूटनैतिक पहल गरी पहिलेकै सम्झौता र मूल्यमा कच्चा पदार्थ ल्याउने वातावरण बनाउनु पर्छ ।’
अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय प्लास्टिक उद्योगको कच्चा पदार्थको संकट र भारतीय आपूर्तिकर्ताहरूको समस्याप्रति सरकार गम्भीर रहेको बताए ।
औद्योगिक विकासका लागि बाधक ऐनहरू परिमार्जन गरिने र आगामी बजेटमा उत्पादनमूलक उद्योगलाई विशेष प्राथमिकता दिइने उनले आश्वासन दिए । जीटुजी समझदारी र भन्सार दर समायोजनका विषयमा मन्त्रालयले अध्ययन गरी उचित निकास निकाल्ने उपाध्यायले प्रतिबद्धता जनाए ।
