सर्लाही,२७ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन लगातार सार्वजनिक बिदाको व्यवस्थाबीच पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अस्पतालहरूलाई विशेष व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम अबदेखि शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिइने व्यवस्था लागू भएको छ । उक्त व्यवस्थाले ‘स्वास्थ्य सेवामा असर नपरोस्’ भन्ने उद्देश्यले आवश्यक निर्देशन जारी गरिएको हो ।
विज्ञप्तिमा अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्तिको आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउन भनिएको छ । साथै, कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एकदिन बिदा दिने गरी दुईदिन बिदा सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ । यदि सो व्यवस्था सम्भव नभए सट्टा बिदा उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।
यसैगरी, प्रादेशिक अस्पतालहरूमा समेत सोही व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा नागरिकलाई नियमित स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा कुनै बाधा नपर्ने गरी आवश्यक समन्वय गर्न सबै सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

