सर्लाही, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवल शमशेर राणाले पार्टीको निर्णयबिना उपसभामुखमा उम्मेदवारी दिएकोप्रति आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री राणाले आपत्ति जनाएका हुन् ।

उनले पार्टीको संस्थागत निर्णय बिना नै उपसभामुख पदको उम्मेदवारीको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिनिधिसभाको उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको थियो । शुक्रबार भएकाे निर्वाचनमा श्रम संस्कृति पार्टीकी रूबीकुमारी विजयी हुँदा राप्रपाकी उम्मेदवार लामाले ५ मत मात्रै पाएकी थिइन् ।

पार्टीले प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिएका कुनै पनि निर्णयमा आफ्नाे सहमति नभएकाे उनले बताए । ‘पार्टीको प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिएका कुनै पनि निर्णयमा मेरो हिजो पनि सहमति थिएन, आज पनि छैन र भोलिका दिनमा पनि हुनेछैन,’ उनले लेखेका छन् ।

महामन्त्री राणाले गणतन्त्रमा संविधानको निःशर्त पालना, संरक्षण र कार्यान्वयनको प्रधान दायित्व भएका कुनै पनि जिम्मेवारीमा सहभागी हुन नहुने बताए ।

‘म प्रस्ट पार्न चाहन्छु — हामी गणतन्त्र विरोधी आन्दोलनमा छौँ। गणतन्त्रमा संविधानको निःशर्त पालना, संरक्षण र कार्यान्वयनको प्रधान दायित्व भएका कुनै पनि जिम्मेवारीमा हामी सहभागी हुनुहुँदैन,’ उनले खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *