काठमाडौं, २९ चैत । । चीनले भारतकै भूभागमा पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयासप्रति भारतले कडा आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमार्फत यस विषयमा भारतको धारणा सार्वजनिक गरेका छन् ।
यस सम्बन्धमा सञ्चारमाध्यमको जिज्ञासाको जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने, “भारत, चीनले भारतीय क्षेत्रभित्र पर्ने स्थानहरूलाई मनगढन्ते नाम दिने कुनै पनि दुष्ट प्रयासलाई पूर्ण रूपमा अस्वीकार गर्छ ।”
विदेश मन्त्रालयले भनेको छ, “झुटा दाबी र मनगढन्ते कुराहरू प्रस्तुत गर्ने चीनका यस्ता प्रयासहरूले यो अटल सत्यलाई परिवर्तन गर्न सक्दैनन् कि अरुणाचल प्रदेश सहित यी सबै क्षेत्रहरू सधैं भारतको अभिन्न र अविभाज्य अंग थिए, छन् र रहनेछन् ।”
“चीनका यस्ता गतिविधिहरूले भारत–चीनबीच सम्बन्धलाई स्थिर र सामान्य बनाउन भइरहेका प्रयासहरूलाई कमजोर बनाउने काम गर्छन् । चीनले सम्बन्ध बिगार्ने र आपसी समझदारीमा असर पार्ने यस्ता गतिविधिबाट टाढा रहनु आवश्यक छ,” मन्त्रालयले जनाएको छ ।
समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का अनुसार चीनले आफ्नो शिनजियांग प्रान्तमा, पाकिस्तान प्रशासित कश्मीर र अफगानिस्तानको सीमाना नजिक नयाँ जिल्ला स्थापना गरेको छ ।
“सेनलिङ” नाम दिइएको उक्त जिल्ला काराकोरम पर्वतमाला नजिक अवस्थित छ, जसले यसको रणनीतिक महत्व झल्काउँछ ।
पीटीआईका अनुसार, “गत वर्ष भारतले ‘हीन’ र ‘हेकाङ’ जिल्लाको निर्माणबारे चीनसमक्ष आपत्ति जनाएको थियो। भारतले ती जिल्लाका केही भूभाग आफ्नो केन्द्रशासित प्रदेश लद्दाख अन्तर्गत पर्ने दाबी गरेको थियो ।”
“‘हीन जिल्लामा विवादित अक्साई चिन पठारको ठूलो हिस्सा समेटिएको छ । यो लद्दाखको त्यही भाग हो, जसलाई चीनले सन् १९६२ को युद्धपछि कब्जामा लिएको थियो र त्यसयता यो भारत–चीन सीमा विवादको प्रमुख मुद्दामध्ये एक बनेको छ ।”
