सर्लाही, १० बैशाख । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती खोलाको मलाहटोल तथा हरैया घाटमा भइरहेको अन्धाधुन्ध उत्खननको विषयमा आज दुवै जिल्लाका जनप्रतिनिधि र सुरक्षा अधिकारीबिच छलफल भएको छ ।
गत आइतबार सर्लाहीका सांसद नरेन्द्र साह कलवार, सुरक्षा प्रमुख, जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी र स्थानीयसहितको टोली अनुगमनमा पुग्दा बागमती खोलामा अनियन्त्रित किसिमले उत्खनन भइरहेको पाइएको थियो ।
त्यसपश्चात आज बरहथवा नगरपालिका कार्यालयमा भएको दुवै जिल्लाका पालिका प्रमुख, सुरक्षा अधिकारीसहितको छलफलले सीमा विवाद र ठेक्का नलागेको ठाउँमा तत्काल उत्खनन रोक्ने निर्णय गरेको हो ।
सर्लाहीतर्फ बरहथवा नगरपालिका–१, हजरियास्थित सहनीटोल घाट र रौतहटको गढिमाई नगरपालिका र बृन्दाबन नगरपालिका क्षेत्रमा पर्ने हरैया घाटमा अनियन्त्रित उत्खनन भइरहेकोबारे स्थानीय वासिन्दाले समेत बारम्बार आवाज उठाउँदै आएका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आजको छलफलबाट विवादित क्षेत्रमा तत्काल उत्खनन नगर्ने र आगामी शनिबार दुबै जिल्लाको सीमा छुट्याउन प्राविधिकसहित रेखाङ्कनको काम गर्ने सहमति भएको उज्यालो अभियानलाई जानकारी दिए ।
छलफलमा सर्लाहीका सिडिओ कडरिया, रौतहटका सिडिओ दिनेश सागर भुसाल, बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवाल, गढिमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, बृन्दाबन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
बरहथवा नगरपालिकाकी मेयर कटुवालले सर्लाहीतर्फबाट ठेक्का लाग्दै नलाग्ने र रौतहटतर्फबाट बर्सेनि बलमिच्याँई किसिमले नदीजन्य पदार्थको उत्खनन हुने गरेको बताइन् ।
आफूहरुले बारम्बार भन्दा पनि सुनुवाई नै नगरेर सर्लाहीतर्फ बाँधकै छेउमा समेत आएर जथाभावी उत्खनन गरिएको नगरप्रमुख कटुवालको आरोप छ ।
छलफलले प्राविधिक टोलीसहित शनिबार स्थलगत निरीक्षण गरेर सीमा छुट्याएपछि आ–आफ्नो पालिकाको क्षेत्रभित्र पर्ने खोलाको ठेक्का लगाउने र अन्य पालिकाको क्षेत्रमा हस्तक्षेप नगर्ने सहमति भएको मेयर कटुवालले बताईन् ।
आइतबार सरकारी टोली अनुगमनमा पुग्दा अवैध किसिमले उत्खनन गर्ने एक्साभेटर र टिप्परको भागाभाग नै मच्चिएको थियो ।
नगरपालिका तथा अन्य सम्वद्ध निकायबाट मापदण्डअनुसार उत्खनन भए/नभएकोबारे नियमित अनुगमन र निगमन नहुँदा बागमती खोलाको विभिन्न घाटबाट दैनिक मनपरी नदीजन्य पदार्थको दोहन भइरहेको स्थानीयले गुनासो गरेका छन् ।
