सर्लाही, १० बैशाख । सरकारले सञ्चालन गरेको ‘शून्य बाँकी फाइल सप्ताह’ (Zero Pending File Week) को अवधिमा पनि फछ्र्यौट हुन नसकेका सरकारी फाइलहरूको बारेमा अब नागरिकले सिधै ‘हेलो सरकार’ को टोल फ्री नम्बर ११११ मा फोन गरेर गुनासो गर्न सक्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सूचना जारी गर्दै टेलिफोनका साथै अनलाइन पोर्टलमार्फत पनि उजुरी दिन सकिने व्यवस्था गरेको हो ।
प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न सरकारले गत ३० चैत २०८२ देखि ७ वैशाख २०८३ सम्म देशभरका सरकारी कार्यालयहरूमा ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान चलाएको थियो ।
अभियानको समयमा तीन ओटै तहका सरकारी निकाय (संघ, प्रदेश र स्थानीय) बाट फछ्र्यौट हुनुपर्ने फाइलहरू अझै रोकिएको भए नागरिकले सिधै प्रधानमन्त्री कार्यालयमा जानकारी गराउन सक्नेछन् ।
फछ्र्यौट हुन नसकेका फाइलका सम्बन्धमा कुनै गुनासो भएमा हेलो सरकार शाखाको टोल फ्री नम्बर ११११ मा सम्पर्क गर्न सकिनेछ भने वेबसाइट gunaso.opmcm.gov.np/register मा गएर पनि आफ्नो फाइलको विवरण र गुनासो दर्ता गर्न सकिनेछ ।
