सर्लाही, १४ बैशाख । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार यस्तो छ वर्षाको सम्भावना:

दिउँसो: कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागलगायत सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना पनि छ ।

राति: देशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने पहाडी र तराई भेगमा आंशिक बादल लाग्नेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागलगायत कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ । 

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताएका छन् । 

‘आज पनि काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छ’, उनले भने, ‘तर हिजोको भन्दा कम हुन्छ, अपराह्नतिर हल्का वर्षा हुने सम्भावना छ ।’

अहिले बिहान भने काठमाडौँ उपत्यकाको आकाशमा आंशिक रूपमा बादल लागेको उनले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *