सर्लाही, १४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
विशेषगरी विद्यालयको पूर्वाधार, पठनपाठनमा डिजिटल प्रणाली लगायत संस्थागत विकास एवं समसामयिक विषयमा कुराकानी भएको थियो । नेपाल–चीनबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको छ ।
सो भेटमा नेपाल सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको संस्थागत विकासका साथै चिनियाँ सरकारसँगको साझेदारी र सहकार्य वृद्धि भएको हेर्न चाहेको बताएका थिए ।
साथै, मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सञ्चालित परियोजना चाडो सम्पन्न गर्न तथा नेपाली युवाहरुको रुचि अनुसारको चीन सरकारबाट प्राप्त हुने छात्रवृत्ति प्रवर्द्धन गर्ने सम्बन्धमा पनि ध्यानाकर्षण गराएका थिए ।
चिनियाँ राजदूत माओमिङले नेपाल सरकारको तर्फबाट राखिएका विषयमा चीन सरकार साझेदारी र सहकार्यका लागि इच्छुक रहेको बताएका थिए ।
सो भेटमा दुई देशबीचको आपसी हित र बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा समझदारी बनेको छ ।
