सर्लाही, १४ बैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका-१५ सुक्नाहाचोकमा जन्ती आएका युवक र स्थानीयबीच विवाद हुँदा कुटपिटबाट दुईजना युवक घाइते भएका छन् ।

महोत्तरीको गौशाला नगरपालिका-७ मनहर्वाबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-७ मोहनगंजका लागि आएको जन्ती टोलीमा सहभागी युवकहरूमाथि स्थानीयले आक्रमण गरेका हुन् ।

घाइते हुनेहरूमा २७ वर्षीय सुजित यादव र ३२ वर्षीय सुशील यादव रहेका छन् । घाइते दुवैको हरिपुर्वा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

आइतबार राति साढे १० बजेको समयमा सुक्नाहाचोकमा जन्ती र स्थानीयबीच सामान्य विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद बढ्दै गएपछि स्थानीयको समूहले उनीहरूमाथि कुटपिट गरेको थियो ।

आक्रमणबाट युवकहरू सवार बीआर ३० एपी ४७३० नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ । प्रहरीले क्षतिग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

कुटपिटमा संलग्न स्थानीय व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *