सर्लाही, १५ बैशाख । सिरहाको बरियारपट्टीमा स्थानीयवासीहरुलाई सशस्त्र प्रहरी बल माडर सिरहाका डीएसपी विजय हमालले दुव्र्यवहार गरेको आरोपमा उनीमाथि छानबिन हुने भएको छ ।
हुलाकी राजमार्गअन्तर्गत पर्ने बरियारपट्टी सीमा क्षेत्रमा आइतबार सशस्त्र प्रहरीले अवैध डिजेल नियन्त्रणमा लिने क्रममा स्थानीयवासीहरुमाथि हातपात गरेको भन्दै डीएसपी हमालको कार्यशैलीको प्रतिवाद गरेका थिए ।
सोही क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार डीएसपी हमालले स्थानीयवासीहरुप्रति अभद्र व्यवहार गर्दै गालीगलौज गरेको आरोप लगाइएको छ ।
उक्त घटनाको भिडियो सामाजिक सञ्जाल अन्तर्गतको फेसबुकमा सार्वजनिक भएपछि विषय थप चर्चामा आएको छ । उक्त भिडियो भाइरल भएसंगै उनलाई आवश्यक छानबिनका लागि सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी–२ महोत्तरी तानिएको जनाइएको छ ।
सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जनाए अनुसार घटनाबारे प्रारम्भिक छानबिन प्रक्रिया अघि बढाइएको छ ।
सो घटनासम्बन्धी थप अनुसन्धान भइरहेको रहेको र आवश्यक कारबाहीका लागि छानबिनसमेत थालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
