सर्लाही, १५ बैशाख । मलंगवा नगरपालिकामा सडक अतिक्रमण हटाउने नाममा पटक–पटक चेतावनीसहित सूचना जारी गरिए पनि कार्यान्वयन भने पूर्ण रूपमा फितलो देखिएको छ । स्थानीय तहले कागजमा कडाइ देखाए पनि मैदानमा शून्यजस्तै परिणाम देखिँदा नगरपालिकाको भूमिका नै प्रश्नको घेरामा परेको छ ।

वडा नं. ८ र ९ कार्यालयले बालमन्दिर चोकदेखि प्रादेशिक अस्पताल मलंगवा हुँदै रिङ रोडसम्मको क्षेत्रमा सडक तथा नाला निर्माणका लागि ११ मिटर मापदण्डभित्र पर्ने सम्पूर्ण संरचना हटाउन ७ दिने सुचना जारी गरेकाे थियो । सूचनामा स्पष्ट रूपमा “नहटाए बलपूर्वक हटाइने” कडा चेतावनीसमेत दिइएको छ ।

तर यथार्थ भने ठीक उल्टो छ । यसअघि पनि यस्तै चेतावनीसहितका सूचना पटक-पटक निकालिँदा समेत अतिक्रमण हटाउने ठोस कदम नचालिएको स्थानीयहरूको आरोप छ । सडक किनारामा जथाभावी बनाइएका टहरा, पसल र घरका अतिक्रमित भाग यथावत् छन्, जसले नगरपालिकाको निर्णय कार्यान्वयन गर्ने इच्छाशक्ति नै कमजोर रहेको संकेत गर्दछ ।

अतिक्रमणका कारण सवारी आवागमन अस्तव्यस्त हुनुका साथै दुर्घटनाको जोखिम बढिरहेको छ । अझै पनि नाला निर्माण र सडक स्तरोन्नति कार्य अवरुद्ध हुँदा विकासका कामहरू कागजमै सीमित हुने अवस्था सिर्जना भएको छ ।

स्थानीहरूका अनुसार “सूचना निकालेर मात्रै जिम्मेवारी पूरा हुँदैन, कार्यान्वयन नगर्ने हो भने यस्तो सुचनाको कुनै अर्थ रहँदैन ।” उनीहरूले नगरपालिकालाई अब ‘देखाउने कडाइ’ होइन, वास्तविक कारबाहीमार्फत अतिक्रमण हटाउन चुनौती दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *