उमेर बढेसँगै शरीर पनि बुढो हुँदै जान्छ । यो स्वभाविक प्रक्रिया हो । तर, उमेर नपुग्दै शरीरको अंग बुढो हुनुलाई सामान्य मान्न सकिँदैन । विज्ञानले भन्छ, अस्वस्थ आनीबानीले पनि शरीरलाई उमेरभन्दा छिटो बुढो बनाउँछ । हालैको एक अध्ययनअनुसार अस्वस्थ जीवनशैलीका कारण हाम्रो मुटु उमेरभन्दा छिट्टै बुढो हुनसक्छ ।
वैज्ञानिकहरूले एमआरआई स्क्यान प्रयोग गरेर ‘हर्ट एज’ भन्ने नयाँ अवधारणा प्रस्तुत गरेका छन्, जसबाट मुटुको उमेर तपाईंको वास्तविक उमेरभन्दा बढी छ कि कम भनेर थाहा पाउन सकिन्छ ।
‘हार्ट एज’ भन्नाले के बुझिन्छ ?
‘हार्ट एज’ भन्नाले तपाईंको शारीरिक उमेरको तुलनामा मुटु कति स्वस्थ छ भन्ने कुरा जनाउँछ । यदि ‘हार्ट एज’ तपाईंको वास्तविक उमेरभन्दा बढी छ भने मुटु रोगको सम्भावना बढी छ भन्ने संकेत हुन सक्छ ।
हालै जामा कार्डियोलोजी जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, वैज्ञानिकहरूले मुटुको ‘प्रिभेन्ट हार्ट ऐज क्याल्कुलेटर’ को अवधारण ल्याएका छन् जसले ब्लड प्रेसर, कोलेस्टेरोल, धूम्रपानको प्रभाव, मधुमेहजस्ता कुराका आधारमा भविष्यमा हुन सक्ने मुटुको समस्या अनुमान गर्छ ।
युरोपेली हार्ट जर्नलमा प्रकाशित अर्को अध्ययनअनुसार, मुटुको कार्यक्षमता परीक्षण गर्दा उच्च रक्तचाप, मोटोपन, मधुमेह वा अरू समस्या भएका व्यक्तिको मुटु छिटो बुढो हुने पाइयो ।
स्वस्थ मानिसको मुटु भने शारीरिक उमेरसँग मिल्दोजुल्दो देखिएको थियो ।
किन बुझ्न जरुरी छ मुटुको वास्तविक उमेर ?
विश्वभरको मुटुको ‘फंसनल एज’ राम्रोसँग बुझ्नका लागि युनिभर्सिटी अफ इस्ट एङ्लियाका अनुसन्धानकर्ताहरूले गरेको खोजबारे जान्न जरुरी छ । यसमा शोधकर्ताले मुटुको बायाँ कोठाको संकुचनको चरण पूरा गरेपछि कति मात्रा रगत बाँकी रहन्छ भनी मापन गरे । र, प्रत्येक मुटु संकुचन स्थितिबाट बायाँकोठाले कति रक्त निष्कासन गर्छ भनेर पनि जाँच गरे ।
यो विधि ३६६ जना मुटु रोग लागेकाहरूमा गरियो ।
अनुसन्धानमा सहभागीहरूको मुटुको उमेर स्वस्थ व्यक्तिका समूहको तुलनामा अत्यधिक देखिएको थियो । र, उच्च रक्तचाप, मधुमेह र मोटोपन जस्ता समस्या भएका व्यक्तिमा यो महत्वपूर्ण रूपमा बढी थियो ।
‘स्वस्थ व्यक्तिहरूमा मुटुको उमेर क्रोनोलोजिकल (वास्तविक) उमेरसँग मिल्दोजुल्दो देखियो । तर मधुमेह, उच्च रक्तचाप, मोटोपन र मुटुको धड्कन अनियमित हुनेहरूमा उनीहरूको ‘हार्ट फंसनल ऐज’ स्पष्ट रूपमा बढी थियो’ अध्ययनको नेतृत्व गर्ने पंकज गार्गले एक प्रेस रिलिजमा भने ।
मुटुको वास्तविक उमेर थाहा पाएपछि त्यसलाई छिट्टै थप बुढो हुन नदिनका लागि उपायहरू सिकाउन सकिने र उपचार गर्ने सकिने पंकजको भनाइ छ । जसले हृदयघात तथा स्ट्रोक रोक्न मद्दत पुग्ने उनले बताए ।
‘यसले आफ्नो हेरचाहमा सुधार ल्याउन आवश्यक चेतावनी पनि दिन सक्छ’ पंकजले भने, ‘मुटु रोगसँग लड्न मानिसलाई मौका दिने अवसर पनि हो ।’
समयअगावै मुटु बुढो किन हुन्छ ?
केही स्वास्थ्य समस्या भएका व्यक्तिको मुटु छिट्टै बुढो हुने जोखिम बढी देखिएको छ ।
सेन्टर अफ डिजिज कन्ट्रोल (सीडीसी)का अनुसार उच्च रक्तचाप, मोटोपन, मधुमेह र कोलेस्टेरोलले मुटुलाई समय अगावै बुढो बनाउनसक्छ ।
उच्च रक्तचाप
जब रक्तचाप उच्च हुन्छ, तब मुटुले शरीरभरि रगत पम्प गर्न थप मेहनत गर्नुपर्छ । यसले मुटुको बायाँतर्फको तल्लो कोठा बाक्लो र ठूलो हुन सक्छ, जसले हृदयघात र मुटु फेलको सम्भावना बढाउँछ ।
मधुमेह
उच्च ग्लुकोजका कारण मुटुमा रहेका रक्तनलीहरू क्षतिग्रस्त हुन सक्छन् । यसले ती रक्तनलीहरूमा बोसोको थुप्रो जम्न सक्छ, जसले मुटु रोगको खतरा बढाउँछ ।
उच्च एलडीएन कोलेस्टेरोल
यसको मात्रा बढ्दा धमनीहरूमा बोसो जम्न थाल्छ, जसले मुटु, मस्तिष्क, मिर्गौला र अन्य अंगमा रगतको प्रवाह घटाउँछ ।
मोटोपन
मोटोपन उच्च रक्तचाप र उच्च कोलेस्टेरोल दुवैसँग सम्बन्धित पाइन्छ, जसले मुटुको समयअगावै बुढ्यौली बढाउन सक्छ ।
मुटुलाई कति बेला बुढ्यौली लागेको मान्ने त ?
मानिसको उमेर बढ्दै जाँदा मुटुसम्बन्धी पहिला कुनै समस्या नभएका स्वस्थ व्यक्तिहरूमा पनि केही सामान्य परिवर्तनहरू देखिन थाल्छन् । तीमध्ये मुख्य लक्षणहरू यस्ता छन्।
अनियमित धड्कन
उमेरसँगै कहिलेकाहीँ हृदयले अतिरिक्त धड्कन दिन सक्छ वा कुनै धड्कन छुट्न सक्छ। यस्तो कहिलेकाहीँ हुनु सामान्य हो, तर बारम्बार हृदय तेज गतिमा धड्किनु एरिथमियाको संकेत हुन सक्छ ।
मुटुको कोठाको आकारमा परिवर्तन
उमेर बढेपछि मुटुभित्र रहेका ४ कोठा मध्ये भित्रको– भेन्ट्रिकल र एट्रिया फुल्न सक्छन् । फुलेर कोठाको पर्खाल बाक्लो हुँदा रगत राख्ने क्षमतामा कमी आउँछ ।
धड्कन अनियमित हुनु
उमेरसँगै मुटुको धड्कनको अवस्था कमजोर हुँदै जान्छ । जसले धड्कनको गति अनियमित बनाउन सक्छ । समयमै यो रोगबारे पहिचान र उपचार नहुँदा यसले स्ट्रोकको खतरा पनि बढाउँछ, जुन वृद्ध व्यक्तिमा विशेष रूपमा देखिन्छ ।
मुटुको भल्भमा कडापन
मुटुका भल्भहरूले कक्षहरूबीच रगतको प्रवाह नियन्त्रित गर्छन् । उमेरसँगै भल्भहरू बाक्लो र कडा हुन सक्छन् । यसले रक्त प्रवाहमा अवरोध ल्याउँछ ।
भल्भबाट रगत चुहावट
यदि भल्भहरू चुहिन थाले भने शरीरका विभिन्न भागहरूमा फोक्सो, खुट्टा, पेट वा खुट्टाको तल्लो भागमा पानी जम्न सक्छ । माथि उल्लेखित संकेत सबैभन्दा बढी दीर्घ रोग उच्च रक्तचाप र मधुमेह हुनेलाई बढी लाग्छ ।
मुटुलाई जवान बनाइ राख्न के गर्ने ?
उमेर बढेसँगै हरेक अंगसँगै मुटु पनि बुढो हुन्छ । तर, उमेर छँदै बुढो हुन नदिन स्वस्थ जीवनशैली अपनाउनुपर्छ । जीवनशैलीमा ल्याउने सानो परिवर्तनले पनि मुटुलाई स्वस्थ बनाउन र तन्दरुस्त बनाउन सकिन्छ ।
नियमित व्यायाम
हप्तामा कम्तीमा १५० मिनेट मध्यम स्तरको कार्डियो वा ७५ मिनेट तीव्र व्यायाम गर्न सकिन्छ । वजन घटाउन वा मुटुको क्षमता बढाउन साताको कम्तीमा २ दिन उर्जा बढाउने खालको व्यायाम गर्नु उचित हुन्छ ।
यसबाहेक घरमा लामो समय बसिरहनुको साट्टा हिँडडुल गर्ने, घरको काम गर्ने र भर्याङ चढ्ने जस्ता साना गतिविधि पनि सहयोगी हुन्छन् ।
सन्तुलित भोजन
प्रशोधित खानाबाट सकेसम्म टाढा बस्नुपर्छ । धेरै मात्रामा हरियो सागपात, फलफूल, ओट्स, दाल, गेडागुडी, बदाम खान सकिन्छ । प्रशोधित मासु, जंक फूड, कोल्ड ड्रिंक्स,
ट्रान्स फ्याट नखानु उचित हुन्छ ।
चिया–कफी पिउदा बिनाचीनी पिउनु राम्रो हुन्छ । पानी प्रशस्त पिउनुपर्छ ।
धूम्रपान नगर्ने
निकोटिनले रक्तचाप बढाउँछ, कार्बन मोनोअक्साइडले रगतमा अक्सिजन बोक्ने क्षमता घटाउँछ । धूम्रपानले मुटु र रक्तनलीमा स्थायी क्षति पुर्याउँछ ।
मद्यपान सीमित गर्ने
सकेसम्म मद्यपान नै गर्नुहुँदैन । कहिलेकाँकी पिउनै परे सीमित मात्रामा मात्रै पिउनुपर्छ । अत्यधिक मदिरा सेवनले स्ट्रोक तथा मुटु रोगको खतरा बढाउँछ ।
तनाव व्यवस्थापन
मानसिक स्वास्थ्य र मुटुको सीधा सम्बन्ध हुन्छ । तनाव, चिन्ताले मुटु रोगको खतरा बढाउँछ। तनाव कम गर्न मनोरञ्जन दिने खालको गतिविधिमा संलग्न हुने प्रयास गर्न सकिन्छ । जस्तो कि साथीभाइसँग समय बिताउने, घुम्ने, संगीत सुन्ने र रुचि केमा छ त्यो खोज्नुपर्छ ।