सर्लाही, १७ बैशाख ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको खिलाफमा भएको बताएका छन् ।

रुकुम पश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले सदनलाई छलेर अध्यादेश ल्याउने असहज भएको बताए ।

उनले भने, ‘बोलाइसकेको सदनको अधिवेशनलाई रोकेर अध्यादेश ल्याउनु लोकतन्त्रका विरुद्ध छ, संवैधानिक मान्यताका पनि विरुद्ध छ । यस्तो गल्ती नगर्न हामीले सरकारलाई सावधान पनि गराएका छौँ ।’

उनले अध्यादेश अब राष्ट्रपतिकहाँ पुगिसकेकाले के हुन्छ हेर्न बाँकी रहेको भन्दै अलोकतान्त्रिक विधि अपनाउने कुराले संविधानको मर्ममाथि प्रहार गर्ने टिप्पणी गरे ।

प्रचण्डले थपे, ‘लोकतान्त्रिक तरिकाले अध्यादेश ल्याउने नै सकिँदैन भन्ने कुरा होइन, अध्यादेशको विशेष अवस्थामा आवश्यकता पर्छ ।

तर, आफैँले बोलाइसकेको सदन बैठकै नबसी त्यसलाई स्थगित गरेर अध्यादेश ल्याउने विधि गलत छ । संवैधानिक परिषद्मा आफ्नो पक्षमा मान्छे पार्ने उद्देश्यले ल्याइएको छ ।’

उनले सरकारले काठमाडौंबाट सुरू गरेको सुकुमबासी बस्ती हटाउने कार्य देशभर लैजान लागेको भन्दै विरोध जनाए ।

उनले भने, ‘देशैभरि ५०औँ वर्षदेखि बसेका ठाउँहरूबाट पनि वैकल्पिक व्यवस्था नगरी, वास्तविक सुकुमबासी हो होइन भन्ने कुराको पनि निधो नगरीकन बल प्रयोगको तरिकाद्वारा डोजर लगाइयो ।

गरिब निमुखाहरूलाई आहत हुने किसिमले काम सरकारले गरेको छ, यो विल्कुल गलत छ ।’

उनले वास्तविक सुकुमबासीको यथार्थ स्थिति छानबिन गरेर वैकल्पिक व्यवस्थापछि समझदारीले हटाउनुपर्ने ठाउँमा सरकारले बल प्रयोग गरेको भन्दै असन्तुष्टि जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *