सर्लाही, २१ बैशाख । स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा जलेका सवारीसाधनहरूको नाममा इन्धन दुरुपयोग भएको भन्ने आरोप निराधार रहेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । 

उक्त विषयमा सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले १५ वैशाखमा सहसचिवस्तरीय संयोजकत्वमा छानबिन समिति गठन गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समितिले प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख तथा भुक्तानी विवरणलगायत कागजातहरूको अध्ययन तथा विश्लेषणपछि जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अपुष्ट तथा भ्रम फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम तथा सरोकारवालाहरूसँग अनुरोध गरेको छ । साथै, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै सत्यतथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न आग्रह गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *