सर्लाही, २५ बैशाख । भारतको बिहार प्रहरीले करिब तीन दशकदेखि भारत–नेपाल दुवै देशको प्रहरीका लागि टाउको दुखाइ बनेका एक अन्तर्राष्ट्रिय डकैतलाई पक्राउ गरेको छ ।

नेपालका कुख्यात अपराधी जयराम पासवानलाई बिहारको वैशाली जिल्लामा भएको एक डकैती घटनापछि पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार जयराम पासवान प्रत्येक ठूलो आपराधिक घटनापछि मलेसिया भाग्ने गर्थे । केही महिना त्यहाँ बसेपछि पुनः नेपाल फर्किएर भारत–नेपाल सीमावर्ती क्षेत्रमा नयाँ आपराधिक घटना गराउने उनको शैली रहेको खुलेको छ ।

वैशाली प्रहरीले जयरामसँगै नेपाली नागरिक भोला साह र बिहारको शिवहर निवासी राजीव सिंहलाई समेत पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट चोरीका दुई मोटरसाइकल र चार थान मोबाइल बरामद गरिएको प्रहरीले बताएको छ ।

गत अप्रिल २० र २१ तारिखको राति वैशाली जिल्लाको महनार थाना क्षेत्रमा एक सुनचाँदी व्यवसायीको घरमा सशस्त्र डकैती भएको थियो । योजनाबद्ध रूपमा आएको समूहले लाखौँ रुपैयाँ बराबरको धनमाल लुटेर फरार भएपछि क्षेत्रभर त्रास फैलिएको थियो ।

घटनापछि वैशाली प्रहरीले विशेष अनुसन्धान टोली ९क्क्ष्त्० गठन गरेको थियो । अनुसन्धानका क्रममा सर्वप्रथम शिवहरका अपराधी राजीव सिंह पक्राउ परेका थिए । उनको बयानका आधारमा प्रहरीले जयराम पासवान र भोला साहसम्म पुग्न सफल भएको जनाएको छ ।

वैशालीका प्रहरी उपरीक्षक विक्रम सिहागका अनुसार उक्त डकैतीको योजना बिहारको बेतियामा आयोजित एक विवाह समारोहमा बनाइएको थियो । सोही कार्यक्रममा नेपाल र बिहारका अपराधीहरू भेला भएर डकैतीको रणनीति तय गरेका थिए ।

प्रहरीले उक्त गिरोहमा नेपालका केही फरार अपराधीसमेत संलग्न रहेको दाबी गरेको छ । त्यसपछि समूहले ज्वेलरको घरको रेकी गरी योजनाबद्ध रूपमा डकैती गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी अभिलेखअनुसार जयराम पासवानविरुद्ध बिहारका सीतामढी, मधुबनी, शिवहर र दरभंगा जिल्लासहित नेपालमा समेत डकैती, हतियार तथा विस्फोटकसम्बन्धी २४ वटा आपराधिक मुद्दा दर्ता छन् । पक्राउ परेका अर्का नेपाली नागरिक भोला साहविरुद्ध ११ वटा मुद्दा रहेको बताइएको छ ।

प्रहरीका अनुसार जयराम पासवान पहिलो पटक पक्राउ परेका हुन्। लामो समयदेखि प्रहरीलाई चुनौती दिँदै आएका उनी निकै चलाख तरिकाले अपराध गर्दै फरार हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

यद्यपि डकैतीमा लुटिएको सम्पूर्ण सामान भने अझै बरामद हुन सकेको छैन । प्रहरीले गिरोहका मुख्य योजनाकार इदरीश नटसहित अन्य फरार अपराधीहरूको खोजी जारी रहेको जनाएको छ ।

प्रहरीको दाबी अनुसार उक्त गिरोह भारत–नेपाल सीमा क्षेत्रमा सक्रिय ठूलो आपराधिक सञ्जालको रूपमा काम गर्दै आएको थियो। घटनाको सफल अनुसन्धानपछि वैशाली प्रहरीले एसआईटी, डीआईयू र महनार एसडीपीओ टोलीलाई प्रशंसा गर्दै संलग्न प्रहरी कर्मचारीलाई सम्मान गर्ने घोषणा गरेको भारतीय समाचार आजतकले उल्लेख गरेको छ। नेपाली डकैत भनिएका दुवैजनाको भारतीय प्रहरीले ठेगाना खुलाएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *