सर्लाही, ३१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले आफूहरूलाई सकेसम्म कम बोल्न र धेरै काम गर्न मन पर्ने बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा नबोल्नेसहितका असंसदीय क्रियाकलाप गरेको भन्दै विपक्षी कित्ताबाट चौतर्फी आलोचना भइरहँदा रास्वपाका सांसद ढकालले प्रधानमन्त्री शाहको बचाउमा अभिव्यक्ति दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा बोल्नुभन्दा काम गरेरै देखाउन पाए हुन्थ्यो भन्ने आफूहरूलाई लाग्ने गरेको तर्क गरेका छन् ।
‘कति धेरै काम गर्न बाँकी छ । जनता कति पीडामा छन् । साच्चै नै यो रातदिन नभनी, नबोलिकन काम गर्नुपर्ने समय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई पनि सकेसम्म बोल्नै नपरे हुन्थ्यो भन्ने लाग्छ ।
जनताले हामीलाई काम गर्न पठाएका हुन् । प्रतिपक्ष जति बोल्दा पनि हुन्छ, हामीलाई बोल्न कम पारिदिए हुन्थ्यो । सदनमा पनि भाषण गर्नुभन्दा बरु वन्यजन्तु, खानेपानी, प्रविधि, ऊर्जा र सिँचाइ लगायतका नीति-योजनाहरू बनाउन मन पर्छ । कतै विवाह, व्रतबन्ध वा सभा(समारोहहरूमा पनि नबोलाइदिए हुन्थ्यो जस्तो लाग्छ ।’
उनले आफूले पनि जीवनमा कहिल्यै बोलेर पेट पालेको वा कमाएको अवस्था नरहेको तर्क गरेका छन् ।
‘तर प्रतिपक्ष हाम्रो सोचको विपरीत ध्रुवमा हुनुहुन्छ। परिवर्तन ल्याउन हामी कटिबद्ध छौँ, हामी आफ्नो क्षमताले भ्याएसम्म पक्कै राम्रो गर्छौँ,’ उनले भनेका छन्, ‘हामी सबैभन्दा ठूलो दल र अभिभावकको भूमिकामा भएकोले सदन अवरुद्ध भएकोमा म क्षमाप्रार्थी छु ।
हामी सक्तिशालि छौँ तर यो प्रमाणित गर्ने हाम्रो शालिनताले हो उग्रताले होइन, संयमता र करूणाले हो। हामी यसमा सचेत छौँ ।’
प्रतिपक्षलाई मिलाएर र सहमतिमा ल्याएर भए पनि रास्वपा नेतृत्वको सरकारले जनताले चाहेको विकास दिने भन्दै उनले भनेका छन्, ‘सदन अवरुद्ध भएपनि काम भने निरन्तर चलिरहन्छ ।’
