सर्लाही, ०२ जेठ । फेसबुकको मातृ कम्पनी मेटाले सन् २०२६ को पहिलो त्रैमासिकमा कीर्तिमानी नाफा कमाएको सार्वजनिक गरेलगत्तै करिब ८ हजार कर्मचारीलाई कामबाट निकाल्ने तयारी गरेपछि कम्पनीभित्र तीव्र असन्तुष्टि र निराशा छाएको छ ।
पहिलो त्रैमासिकमा कम्पनीको कुल आम्दानी ५६.३१ अर्ब डलर र खुद नाफा २६.८ अर्ब डलर पुगेको अवस्थामा यो ठूलो संख्यामा हुन लागेको कर्मचारी कटौतीले सिलिकन भ्यालीलाई नै स्तब्ध बनाएको छ ।
‘वायर्ड’ पत्रिकाले एक दर्जनभन्दा बढी वर्तमान र पूर्वकर्मचारीहरूसँग गरेको कुराकानीमा आधारित रिपोर्टअनुसार अहिले मेटाभित्रको वातावरण निकै तनावपूर्ण र निराशाजनक रहेको छ ।
कर्मचारी कटौतीको योजना सार्वजनिक भएपछि पहिलो पटक गत अप्रिल ३० मा आयोजित कम्पनीव्यापी टाउन हल बैठकमा प्रमुख कार्यकारी अधिकृतमार्क जुकरबर्गले कर्मचारीहरूलाई सीधै सम्बोधन गरेका थिए । तर, उक्त बैठकले कर्मचारीहरूको चिन्ता कम गर्नुको साटो झन् अन्योल थपिदिएको छ ।
जुकरबर्गले आर्टिफिसियल इन्टेलिजेन्स औजारहरूको प्रयोगका कारण यो जागिर कटौती नभएको स्पष्ट पारे पनि कटौतीको वास्तविक कारणबारे भने उनी मौन रहे ।
अर्कोतर्फ, मुख्य वित्तीय अधिकारी सुसान लीले कम्पनीको वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मे महिनाभित्र कर्मचारीको संख्या घटाउने योजना रहेको जानकारी दिएका थिए ।
उनका अनुसार लिनर अपरेटिङ मोडलले कम्पनीलाई तीव्र गतिमा अघि बढ्न मद्दत गर्नेछ र आगामी ठूला लगानीहरूलाई सन्तुलनमा राख्न सहयोग पुर्याउनेछ ।
