सर्लाही, ०२ जेठ । भारतको मौसम विज्ञान विभागले यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिनअघि नै देशमा भित्रिने सम्भावना देखिएको जनाएको छ ।
भारत (केरला) मा मनसुन प्रवेश गर्ने सरदर मिति जुन १ को हो । यद्यपि यो मितिमा दुई/चार दिन तलमाथि हुने गर्छ ।
यसपटक मनसुन ६ दिन अगाडि नै केरला आइपुग्ने संकेत देखिएको भारतको मौसम विज्ञान विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
चार दिन अघिपछिको अन्तर राख्दै यसपालि मनसुन मे २२ देखि मे ३० सम्म कुनै पनि दिन मनसुन भारत आइपुग्ने आकलन गरिएको छ।
यसैबिच भारतमा चाँडै मनसुन भित्रिएका खण्डमा नेपालमा पनि यो अलि छिटै आइपुग्ने अनुमान गर्न सकिन्छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भारतमा मनसुन भित्रिने औसत मिति जुन १ हुँदा नेपालमा यसको औसत मिति जुन १३ तारिख हो।
‘अर्थात् भारतमा मनसुन प्रवेश गरेको १२/१३ दिनमा नेपाल आइपुग्ने गरेको छ’, उनले शनिबार नेपालखबरसँग भने, ‘यस हिसाबले भारतमा छिटै मनसुन आयो भने नेपालमा पनि त्यही हिसाबले अलि चाँडो आउने सम्भावना हुन्छ।’
यद्यपि यस विषयमा अध्ययन/अनुगमन जारी रहेकाले अहिले नै नेपालमा मनसुन भित्रिने मिति अनुमान गर्न नसकिने मौसमविद् अधिकारीको भनाइ छ।
गत वर्ष (२०८२) भने नेपालमा मनसुन औसत मितिभन्दा १५ दिनअगाडि नै मे २९ तारिखमा प्रवेश गरेको थियो ।
नेपालबाट मनसुन बाहिरिने सरदर मितिचाहिँ अक्टोबर २ तारिख हो। तर यसमा पनि दुई/चार दिन तलमाथि हुने गर्छ।
गत वर्ष भने नेपालबाट मनसुन औसत मितिभन्दा ८ दिन ढिला अक्टोबर १० तारिखमा बाहिरिएको थियो।
नेपालमा मनसुन अर्थात् बर्खा ४ महिना- जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ।
मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ।
डिसेम्बरदेखि विन्टर अर्थात् जाडो याम लाग्छ। विन्टर अर्थात् हिउँद ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ।
अनि मार्च १ देखि प्रि-मनसुन लाग्छ। प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ। अहिले देशमा प्रि-मनसुन छ। मनसुन भित्रिएपछि यो सिजन अन्त्य हुन्छ।
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ लाई आधार मान्दा अब प्रि-मनसुन सकिन एक महिनाभन्दा कम समय बाँकी छ।
मौसमविद्का अनुसार प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ।
यस वर्ष बर्खामा वर्षा कम, गर्मी बढी हुने सम्भावना छ: मौसम विभाग
यस वर्ष मनसुन अर्थात् बर्खामा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको जलवायु विज्ञान महाशाखाले वैशाख २५ गते नै जारी गरेको प्रक्षेपणअनुसार यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएको हो।
विभागले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ। अर्थात् गर्मी बढी हुने सम्भावना देखिन्छ।’
मौसम विभागका अनुसार नेपालमा जेठ १८ देखि असोज १४ सम्म ४ महिना मनसुन अर्थात् बर्खायामको अवधि हो।
यस वर्ष मनसुनमा यस्तो छ वर्षाको सम्भावना
मौसम विभागका अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ।
कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ भने सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोसी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ।
त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोसी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ भने देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ।
