सर्लाही, ०६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापा बुधवार जनकपुरधाम आउन लागेका छन् । मधेश प्रदेश कांग्रेस संसदीय दलमा देखिएको विवादलाई सुल्झाउन उनी जनकपुरधाममा नेताहरुसित भेंटने कार्यक्रम छ ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले शुक्रवार प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम छ ।गत ४ गते विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसबाट फ्लोर क्रस निश्चित देखिएपछि मुख्यमन्त्री यादवले ८ गतेलाई सारेका थिए ।

कांग्रेस भित्रको अन्तरकलह सुल्झिसकेको छैन् ।तर विश्वासको मत लिने तिथि निर्धारण भइसकेकोले कांग्रेसका नेताहरु तनावमा देखिएका छन् ।

स्रोतका अनुसार सभापति थापा निकटका सहयोगी वीरेन्द्र सिंह समूह मुख्यमन्त्री यादवको खिलाफमा छन् ।मुख्यमन्त्रीबाट यादवलाई हटाउन उनी सहितको समूह सक्रिय रहेको छ ।

हाल मुख्यमन्त्री यादव पनि संस्थापन पक्षमा नै छन् ।यस अघि उनी पूर्ब सभापति शेरबहादुर देउवा समूहमा थिए । यादव र सिंह समूह संस्थापन पक्षमा नै रहेकाले सभापति थापाले मनोमालिन्यको अन्त्य गराउने बताइएको छ ।

प्रशिक्षण कार्यक्रमका लागि आउन लागेको भनिए पनि थापाको प्रमुख उद्देश्य मधेश प्रदेश सरकारको नेतृत्व जोगाउनु हो । सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका छन् ।

हाल सत्तामा रहेका दलहरु नेपाली कांग्रेसको २२, जनता समाजवादी पार्टी(जसपा)नेपालको २६, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १४ सिटगरी ६२ सिट रहेको छ ।

जनमत पार्टीले समर्थन फिर्ता लिए पनि सो दलका दुई जना महेश यादव अर्थ र वसन्त कुशवाहा खेलकुद तथा समाजकल्याण मन्त्री छन् ।

गत ४ गते विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठकमा कुशवाहा विपक्षी बेञ्चमा र यादव अनुपस्थित रहेका थिए । सरकारमा रहने अथवा नरहने निर्णय बुधवार जसपाले गर्ने छ ।

दलको नेता चयन हुने बैठकबाट नै सरकारलाई समर्थन गर्ने, नगर्ने विषयमा टुंगो लाग्ने जसपा नेपालका नेताहरुले बताएका छन् । तर कांग्रेसका लागि जसपा नेपालको भन्दा ठूलो चुनौती आन्तरिक कलह देखिएको छ ।

कांग्रेसमा सुलह हुन नसके सिंह समूहले फ्लोर क्रस गर्ने छन् ।त्यसपछि जसपा नेपालले पनि सरकारबाट बाहिरिने निर्णय गर्ने छ । तर पनि कांग्रेसको सरकारले विश्वासको मत पाउनेमा मुख्यमन्त्री ढुक्क छन् ।

जसपा नेपालले विश्वासको मत नदिए नेकपा एमालेले विश्वासको मत दिन तयारी अवस्थामा रहेको छ । स्रोतका अनुसार एमाले सरकारमा छिर्न खुट्टा उचालेको छ ।मौका मिल्ना साथ एमालेले सरकारलाई समर्थन गर्दै सत्तामा पुग्नेछ ।

प्रदेशको बजेट बनाउने अन्तिम समयमा एमाले सरकारमा छिरे अर्थ र भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने विषयमा समेत एक चरणको छलफल कांग्रेससित भइसकेको एकजना सांसदले बताए ।

नाम सार्वजनिक नगर्ने शर्तमा उनले भने, सरकार टिकाउन नेकपा र एमालेको समर्थन पर्याप्त छ । एमालेले जसपा नेपाललाई सरकार बाट अलग्याउन नयाँ सरकार गठनका लागि समर्थन गर्ने आश्वासन दिएको छ ।

जसपा नेपाल नेतृत्वको सरकारलाई एमालेले समर्थन गर्नु भन्दा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै मधेश केन्द्रित दलहरुलाई सत्ता बाहिर राख्ने रणनीति बनाएको बताइन्छ ।

यादव नेतृत्वको सरकार रहने अथवा नरहने टुंगो कांग्रेस भित्रबाटै लाग्ने बताइन्छ । मुख्यमन्त्री यादवलाई समर्थन गर्न सिंह समूहले सरकारमा सहभागिता अनिवार्य शर्त राखेको छ । तर मुख्यमन्त्री यादवले सर्लाहीबाट जंगीलाल रायलाई स्वास्थ्य मन्त्री बनाइसकेका छन् ।सर्लाहीबाट नै सांसद रहेका सिंहलाई सरकारमा जाने सम्भावना कमजोर छ ।

रायलाई हटाएर सिंहलाई भित्र्याउने अवस्थामा मुख्यमन्त्री यादव नरहेको बताइन्छ । सभापति थापाले निकास निकाल्नेमा मुख्यमन्त्री यादव पक्ष विश्वस्त देखिएका छन् ।

कांग्रेसका प्रमुख सचेतक कुमर कान्त झाले पनि रायलाई मन्त्रीबाट नहटाइने बताएका छन् ।‘स्वास्थ्य मन्त्री रायलाई हटाउने विषय उठेको छैन्’ उनले भने, उनको कार्यशैली र कार्यसम्पादन उत्कृष्ट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *