काठमाडौँ, ०८ जेठ । कतार एयरवेजले जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुलाई साढे २ करोड बढी क्षतिपूर्ति दिनुपर्ने भएको छ ।
उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार एयरवेजले २ करोड ६१ लाख ५२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।
मोन्ट्रियल कन्भेन्सन अनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ र उपभोक्ता संरक्षण ऐन अनुसार थप २० लाख रुपैयाँ क्षतिपूर्ति दिनु पर्ने अदालतको फैसला छ ।
जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते भएकी ललितपुरकी प्रिती थापाले २० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी थिइन् ।
उनी सन् २०२३ जुन १० मा कतार ऐयरवेजमार्फत काठमाडौँबाट दोहा हुँदै बोस्टन गएकी थिइन् । जुलाई १० मा बोस्टनबाट दोहा हुँदै काठमाडौँ फर्किने तालिका थियो ।
बोस्टनबाट दोहा आउने क्रममा विमानमा दिइएको तातो कफी पोखिएर उनको पेट, तिघ्रा तथा संवेदनशील अंगमा समेत पोलेको थियो ।
उनलाई विमान अवतरणपछि हमाद विमानस्थलस्थित आकस्मिक उपचार कक्षमा प्राथमिक उपचार गराइएको थियो । त्यहीँ स्वास्थ्यकर्मीले उनको जलन दोस्रो तहमा पुगेको पहिचान गरेका थिए ।
त्यसपछि काठमाडौँ आएर उनी कीर्तिपुर वर्न अस्पताल भर्ना भएकी थिइन् ।
यसअघि थापाले एयरवेजसँग आन्तरिकरूपमै क्षतिपूर्ति दाबी गरे पनि कम्पनी तयार नभएपछि अदालत गएकी थिइन् । उपभोक्ता अदालतले उनको पक्षमा फैसला गरेसँगै अब एयरवेजले कि यो फैसला कार्यान्वयन गर्नुपर्ने हुन्छ । नभए अदालतले दिएको समयमा माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
