सर्लाही, ०८ जेठ । सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्जस्थित कालिन्जोरखोलाबाट सम्झौताभन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ ।
अनियन्त्रित उत्खनन भइरहेको भन्दै गाउँलेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि लालबन्दी नगरपालिकाले प्राविधिकलाई खटाएर उत्खनन क्षेत्रको नापजाँच गरेको थियो ।
नापजाँच गर्दा सम्झौताभन्दा १९ हजार घनमिटर बढी गिट्टी, बालुवा निकालिएको पाइएपछि ठेक्का लिने कम्पनीलाई जरिबाना तिराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलले जानकारी दिनुभयो ।
कालिन्जोरखोलाका तीन वटा नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ मा नदीजन्य पदार्थ उत्खननका लागि कुण्डलिनी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि कमलामाई नगरपालिका–६, सिन्धुलीले ठेक्का पाएको थियो ।
२०८२ पुस ९ गते नगरपालिका र उक्त कम्पनीबिच भएको सम्झौता अनुसारको परिमाण उत्खनन भइसकेकाले जेठ ४ देखि उत्खनन कार्य बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले बताउनुभयो ।
सम्झौताविपरीत उत्खनन गरेको पाइएपछि नगरपालिका कार्यालयले उक्त कम्पनीलाई एक लाख २० हजार रुपियाँसमेत जरिबाना तिराइएको छ ।
त्यस कम्पनीले १९ घनमिटर नदीजन्य पदार्थबापतको थप ४४ लाख रुपियाँ पनि नगरपालिकालाई भुक्तानी गर्नुपर्ने लालबन्दी नगरपालिकाको राजस्व शाखाका प्रमुख गोपाल थापाले बताउनुभयो ।
जेठ मसान्तसम्म उत्खननको ठेक्का भए पनि नापजाँच गर्दा सम्झौता अनुसारको परिमाण निकालिसकेको पाइएपछि करिब एक महिनाअघि नै उत्खनन बन्द गरिएको हो ।
कालिन्जोरखोलामा उत्खनन बन्द गरिएकोबारे नगरपालिका कार्यालयले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, डिभिजन वन र सुरक्षा निकायलाई समेत पत्राचार गरेको छ ।
कालिन्जोरखोलामा मनपरी उत्खनन भइरहेको उजुरीपछि एक साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिकसहितको टोलीसमेत आएर निरीक्षण गरेर फर्किएको थियो ।
अख्तियारले नै चासो देखाएपछि नगरपालिका कार्यालयले आफ्ना प्राविधिक खटाएर उत्खनन क्षेत्रको नापजाँच गराएको थियो ।
उत्खनन रोक्न निर्देशन दिएपछि उत्खननमा प्रयोग गरिएका दुई वटा टिप्पर नियन्त्रणमा लिएर कारबाही गरिएको नगरपालिका कार्यालयको राजस्व शाखाले जनाएको छ ।–गोरखापत्र अनलाइन
