सर्लाही, १४ जेठ । सर्लाहीको कौडेना गाउँपालिका–१, लक्ष्मीपुरमा बुधबार साँझ विषालु सर्पले डसेर एक बालकको मृत्यु भएको छ । रवीन्द्र गिरीका छोरा तीन वर्षीय आदित्य गिरीको सर्पले डसेर मृत्यु भएको हो ।
कौसीमा खेल्ने क्रममा सर्पले डसेर बिरामी परेका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी चौकी सुन्दरपुरले जनाएको छ ।
चिकित्सकको लापरबाही र उपचारमा ढिलाई हुँदा बालकको मृत्यु भएको भन्दै मृतकका परिवार तथा आफन्तले प्रादेशिक अस्पताल मलङ्गवा परिसरमा केहीबेर हो–हल्ला गरेका थिए । प्रहरीले सम्झाइबुझाइ गरेर अवस्था साम्य पार्यो ।
मृतक बालकको शव पोस्टमार्टमपछि बुधबार साँझ नै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
गर्मी र बर्खायाम सुरु भएसँगै तराई क्षेत्रमा विषालु सर्पको बिगबिगी बढेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।
